नयाँदिल्ली — दक्षिण भारतीय फिल्म (कन्नड) का चर्चित अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ । हृदयघात भएपछि उनलाई शुक्रबार बिहानै बंगलुरुस्थित विक्रम अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा उपचारको क्रममा शुक्रबार नै उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हुक्रबार बिहान जिममा वर्कआउट गर्ने क्रममा उनको अचानक छाती दुखेपछि अस्पताल लगिएको हो ।
पुनितको निधनपछि कर्नाटकमा शोक मनाइएको छ । राज्यका सबै थिएटर बन्द गरिनुका साथै उनका प्रशंसकहरुलाई नियन्त्रणमा राख्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । पुनितको निधनमा शोक व्यक्त गर्न कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्बईसमेत अस्पताल पुगेका थिए ।
पुनितका पिता समेत दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता थिए । दादासाहेब फाल्के अवार्ड जितेका उनी कन्नड फिल्मका पहिलो अभिनेताको रुपमा चिनिन्थे । राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका पुनितले भने बाल कलाकारको रुपमा नै फिल्मी करिअर सुरु गरेका थिए । पुनितको निधनप्रति भारतका थुप्रै कलाकारहरूले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कमेन्ट गर्नुहोस्