काठमाडौँ — डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटीविरुद्ध प्रतिस्पर्धा गर्दै नयाँ सिजनको सुरुआत गर्ने भएको छ । शुक्रबार निकालिएको ‘ड्र’ अनुसार मछिन्द्र र एनआरटी मंसिर २ गते दशरथ रंगशालामा भिड्नेछन् ।
मछिन्द्रले गत सिजन विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई अन्तिम खेलमा पराजित गर्दै पहिलोपल्ट माथिल्लो श्रेणीको लिग जितेको थियो । मछिन्द्र र आर्मी यसपालि दोस्रो चरणमै प्रतिस्पर्धा गर्दैछन् । मंसिर ६ को यो खेल पनि दशरथ रंगशालामै हुनेछ । मछिन्द्रले उपाधि जोगाउने अभियानमा यसपालि पनि विशाल राई, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, मनीष डाँगी, सुनील बल, विमल घर्तीमगरलगायत चर्चित खेलाडीलाई अनुबन्ध गरिसकेको छ ।
यसअघि यो सिजनको उद्घाटन खेलमा राजधानीको ‘ए’ डिभिजन लिगको नवप्रवेशी सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबबीच कात्तिक २९ गते दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा हिमालयन शेर्पाले संकटा, च्यासल युवा क्लबले थ्रीस्टार, जावलाखेलले मनाङ–मर्स्याङ्दी, ब्रिगेड ब्वाइजले एपीएफ र आर्मीले पुलिसविरुद्ध खेल्नेछन् । १४ क्लब सहभागी लिगका खेलहरू माघ १२ सम्म दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ ।
लिग विजेतालाई ७५ लाख रुपैयाँ, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख दिइने पनि एन्फाले जनाएको छ । गत वर्षको विजेताले ५० लाख र उपविजेता आर्मीले ३५ लाख पाएका थिए ।
कमेन्ट गर्नुहोस्