अबुधाबी — अफगानिस्तानले आइतबार ट्वान्टी–२० विश्वकपको समूह चरणमा दोस्रो जित निकालेको छ । यसका लागि उसले नामिबियालाई ६२ रनले पराजित गर्यो ।
अफगानिस्तानले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । त्यसमा आफ्नो अन्तिम खेल खेलिरहेका पूर्वकप्तान अस्गर अफगानले ३१ रन बनाए । त्यसपछि नामिबिया २० ओभरमा नौ विकेट गुमाएर ९८ रनमै सीमित रह्यो ।
त्यसमा पाँच वर्षयता पहिलोपल्ट ट्वान्टी–ट्वान्टी खेलिरहेका सिमर हमिद हसन र नभिन उल हकले तीन–तीन विकेट लिए । नभिन खेलको प्लेयर अफ द म्याच रहे, तर उनले यो अवार्ड अस्गरलाई प्रदान गरे । खेलको ठीक अगाडि अस्गरले नामिबियाविरुद्धको प्रतिस्पर्धा नै आफ्नो अफगानिस्तानका लागि अन्तिम खेल हुने घोषणा गरेका थिए ।
वर्तमान कप्तान मोहम्मद नाबीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि मोहम्मद साहजादले आक्रामक सुरुवात दिलाए । प्रारम्भिक ब्याट्सम्यान साहजादले ३३ बलमा ४५ रन बनाए र त्यसमा दुई छक्का सामेल थिए । जेजे स्मिथको बलमा डिप स्क्वायरमा समातिएपछि उनका साथी प्रारम्भिक ब्याट्सम्यान हजरतुल्लाह जजाइले ३३ रन बनाएर आक्रामक रणनीति कायम राखे । उनले दुई छक्का प्रहार गरे । नामिबियाका २० वर्षीय लेग स्पिनर जान निकोलले रहमुल्लाह गुरबाज र नजिबुल्लाह जाडरनलाई आउट गरेपछि अफगानिस्तान केही सुस्त भएको थियो ।
लगत्तै अस्गर ब्याटिङका लागि मैदानमा ओर्लेका थिए र खेल केही क्षणका लागि रोकिएको थियो । नामिबियाली खेलाडीले उनलाई लहरै रहेर ताली बजाउँदै स्वागत गरे । अस्गरले २३ बलमा ३१ रन थपे र त्यसमा तीन चौका तथा एक छक्का सामेल थिए । रुबेन ट्रम्पपेलमनले १९ ओभरको अन्तिम बलमा उनलाई आउट गरेपछि पनि सबै नामिबियाली खेलाडीले उनीसँग हात मिलाएर भावपूर्ण बिदाइ दिए । कप्तान नाबीले १७ बलमा ३२ रन बनाए ।
त्यसमा उनले एक छक्का र पाँच चौका प्रहार गरे । ट्रम्पपेलमनले ३४ रनमा दुई विकेट लिए । यस्तै निकोलले पनि २१ रनमा दुई विकेट हात पारे । अफगान इनिङ्सको समाप्तिमा अस्गरले प्रतियोगिताको बीचमै संन्यास लिनुपर्ने कारण पनि खुलाए र यसका लागि शुक्रबार पाकिस्तानविरुद्धको खेलमा सामना गरेको हारलाई प्रमुख माने । उनले भने, ‘त्यो हार निकै पीडादायी रह्यो, त्यसैले मैले संन्यास लिने निर्णय गरें । मैले संन्यास लिएको छु, यस क्षणको बयान गर्न सकिन्न ।’
उनले अब आफूले नयाँ र युवा टिमलाई अफगान टिममा स्थान दिन चाहेको पनि बताए । अस्गरले अफगानिस्तानका लागि क्रिकेटका तीनै ढाँचामा नेतृत्व गरेका छन् । उनले कुल छ टेस्ट, १ सय १४ वान डे र ७५ ट्वान्टी–ट्वान्टी खेलेका छन् । उनको अन्तर्राष्ट्रिय खेल जीवन १२ वर्ष लामो रह्यो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेललगत्तै अस्गरको प्रशंसा गर्दै प्रेस विज्ञप्ति निकालेको छ । त्यसमा आईसीसीले उनलाई क्रिकेटको सफल दूत भनेको छ ।
आईसीसीले भनेको छ, ‘अफगानिस्तानमा क्रिकेटलाई लोकप्रिय बनाउन उनको ठूलो हात रहेको छ । विश्व क्रिकेटमा अफगानिस्तानको उदयमा पनि उनले उत्तिकै भूमिका खेलेका छन् ।’
पाकिस्तानविरुद्धको खेलबाट अफगानिस्तानले एक परिवर्तन गर्दै हमिद हसनलाई टिममा राखेको थियो भने चोटग्रस्त स्पिनर मुजिब उर रहमानलाई आराम दिएको थियो । टिमको यो रणनीति सफल पनि रह्यो र नामिबियालाई सस्तोमा समेट्न सिमर नै निर्णायक रहे ।
नभिनले दुवै प्रारम्भिक ब्याट्सम्यान क्रेग विलियम माइकल भान लिन्गेनलाई आउट पारेपछि नामिबिया दुई विकेट गुमाएर १६ रनको खराब स्थितिमा पुगेको थियो । त्यसपछि कुनै पनि समय नामिबियाले आफूलाई सम्हाल्न सकेन । नभिनले पनि अस्गरको प्रशंसा गरे । उनले भने, ‘अफगानिस्तानले जति पनि कप्तान पाएको छ, त्यसमध्ये अस्गर नै सबैभन्दा उत्कृष्ट छन् । म यो प्लेयर अफ द म्याचको अवार्ड उनलाई नै समर्पित गर्न चाहन्छु । हामी उनको उपस्थितिलाई पक्कै गुमाउनेछौं ।’
कमेन्ट गर्नुहोस्