लमजुङ, कात्तिक १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले हिमाली जिल्ला मनाङको भ्रमण गर्नुहुँदै त्यहाँको स्याउ बगैचाको अवलोकन गर्नुभएको छ । हेलिकप्टरमार्फत सोमबार बिहान सवा ९ बजेतिर आउनुभएका उहाँले स्याउ बगैंचाको भ्रमण गर्नुभएको हो ।
मनाङ ङिस्याङ गाउँपालिका १ स्थित भ्राताङमा रहेको एग्रो मनाङ प्रा.लि.ले संञ्चालन गरेको स्याउ बगैंचा अवलोकन तथा निरीक्षण उहाँले गर्नुभयो । भ्रमणको क्रममा विश्वमा चर्चित मनाङमा आफू पहिलो पटक आएको पनि बताउनुभयो ।
प्रसिद्ध जिल्लामा भ्रमण गर्ने अवसर पाएकोमा म खुशी छुँ उहाँले भन्नुभयो । मनाङमा स्याउ उत्पादन व्यवसायीक रुपमा अगाडि बढेको भन्दै यसले कृषिप्रधान देश नेपाललाई थप आयाम थपेको बताउनुभयो । प्रसिद्ध मनाङलाई नेपालीले मात्र नभएर विश्वले चिनेको र पर्यटक आउने गरेको उहाँको भनाई छ । आगामी दिनमा अझैं पर्यटक आकर्षित गराउनतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
जलवायु परिवर्तनका कारण मनाङमा बाढीले ठूलो क्षति पु¥याएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । जलवायुलाई प्रतिकुल बनाउने कुरामा नेपालीको भुमिका नभएर अन्य देशमा प्रकृतिको दोहन भएका कारण भएको उहाँले बताउनुभयो । जलवायु अनुकुलन कार्यक्रम गर्नुपर्छ भनेर सरकारले कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो ।
राष्ट्रपति भण्डारीले नेपाल भौगोलिक विविधता भएको, प्राकृतिक सौन्दर्यता भएको देश भएकाले यसमा गौरव गनुपर्ने बताउनुभयो । फरक जलवायुका कारण उत्पादन पनि फरक फरक हुने र यसलाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजानुपर्ने बताउनुभयो ।
कृषिप्रधान, जलस्रोतको सम्पन्न देश भनिए तापनि कार्यन्वयनको चरणमा समस्या भइरहेको उहाँले धारणा राख्नुभयो । समस्याको पहिचान गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । प्रतिनिधि सभामा मनाङबाट निर्वाचित एमाले सांसद पोल्देन छोपाङ गुरुङले स्थापना गर्नुभएको उक्त स्याउ बगैंचा दक्षिण एसियाकै सवैभन्दा ठूलो मानिएको छ ।
पोल्देन छोपाङका परिवार, संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारी, पोल्देनका भाइ त्रिपल पी गुरुङ, जनप्रतिनिधि, स्थानीयलगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । पोल्देन छोपाङ गुरुङ साथै स्याउ बगैंचा र यसको प्रविधिवारे एग्रो मनाङका प्रवन्ध निर्देशक युवराज गुरुङले जानकारी गराउनुभएको थियो ।
एग्रो मनाङका अध्यक्ष समराज गुरुङले स्याउ टिपिसकेपछिको ग्रेडिङ, प्रसोधनलगायतबारे जानकारी गराउनुभएको थियो । ६ बर्षदेखि ७ सय ३५ रोपनी क्षेत्रफलमा इटली र सर्भियाबाट बेर्ना ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत उन्नत जातको स्याउखेती गर्दैआएको अध्यक्ष गुरुङले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्