आबुधावी : दक्षिण अफ्रिकाले आइसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा तेस्रो जित निकालेको छ। मंगलबार आबुधावीमा भएको खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले तेस्रो जित निकालेको हो।
बंगलादेशले दिएको ८५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १३.३ ओभरमा चार विकेट गुमाएर जित निकालेको हो। एकपक्षीय खेलमा दक्षिण अफ्रिकालाई जित दिलाउन कप्तान देम्बा बावुमाले अविजित ३१ रन बनाए। यसैगरी रस्सी भान डेर डुसेनले २२ र क्विन्टन डी ककले १६ रन बनाए।
बंगलादेशका तास्किन अहमदले दुई विकेट हात पारे। यसैगरी मेहन्दी हसन र नासुम अहमदले एक-एक विकेट लिए।
यसअघि दक्षिण अफ्रिकाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बंगलादेश १८.२ ओभरमा ८४ रनमा समेटिएको थियो। बंगलादेशका मेहन्दी हसनले सर्वाधिक २७ रन बनाए। यसैगरी विकेटकिपर ब्याट्सम्यान लिटन दासले २४, समिम हुसेनले ११ र मोहमद नइमले नौ रन बनाए।
बंगलादेशलाई धराशयी बनाउन दक्षिण अफ्रिकाका कागिसो रबाडा र एनरिच नोर्टजेले तीन-तीन विकेट लिए। यस्तै तबरेज साम्सीले दुई र ड्वेन प्रिटोरियसले एक विकेट हात पारे।
यसअघि भएका खेलमा दक्षिण अफ्रिकाले दुई खेलमा जित र एकमा हार बेहोरेको थियो। पहिलो खेलमा अस्ट्रेलियालाई पाँच विकेटले नतिजा सुम्पिएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा साविक विजेता वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो। यस्तै तेस्रो खेलमा श्रीलंकालाई चार विकेटले पराजित गरेको थियो।
यसैगरी बंगलादेशको भने टीट्वेन्टी विश्वकपमा लगातार चौथो हार हो। पहिलो खेलमा श्रीलंकासँग पाँच विकेटले पराजित भएको बंगलादेशले दोस्रो खेलमा इङ्ल्यान्डलाई पाँच विकेटको नतिजा सुम्पिएको थियो। साविक विजेता वेस्ट इनिडजसँग अन्तिम समयमा चुक्दा बंगलादेश तीन रनले स्तब्ध बनेको थियो।
कमेन्ट गर्नुहोस्