वीरगन्ज : वीरगञ्जको घडीअर्वा पोखरीमा छठ पूजाको लागि घाट निर्माण गरिएको छ। बत्तीहरुले घाटलाई शृङ्गारेर झिलिमिली पारिएको छ।
यो वर्षको छठ पर्व सोमबारदेखि सुरु भएको छ। यसलाई तराईवासीको महान् चाड मानिन्छ। कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाई 'नहाए खाएके दिन' पनि भन्ने गरिन्छ। छठ पर्वको पहिलो दिन सोमबार छठका व्रतालुहरुले खोला, नाला, नदी, पोखरी, तलाउलगायतका जलाशयमा नुहाइधुवाइ गरेर शुद्ध भइ लसुन र प्याज नभएको शाकाहारी खाना खाएका छन्।
छठको दोस्रो दिन अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ। खरनाका दिनदेखि नै ब्रतालुहरुले निराहार ब्रत सुरु गर्छन्। छठको तेस्रो दिन अर्थात् षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ। जसलाई 'सँझीया घाटे' पनि भनिन्छ।
त्यस दिन ब्रतालु महिलाले नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझपख अस्ताउँदो सूर्यलाई र भोलिपल्ट सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवतरुपमा समापन हुन्छ।
सोमबारदेखि विधिवत छठ पव सुरु भए पनि छठको मुख्य दिन षष्ठी तिथि बुधबार परेकाले तराई मधेसका जिल्लामा छठ पूजाको लागि तयारी तीव्र रुपमा भइरहेको छ। छठ पर्व मनाउनेहरु पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ–आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लीन भएर जुटेका छन्। मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापन भइरहेको छ।
वीरगन्जको घडीअर्वा, रानीघाट, नगवा, मुर्ली, छपकैया, पिपरा, रामगढवा, परवानीपुर, बहुअरी, आदर्शनगर , इनर्वा लगायतका क्षेत्रमा छटघाट सजावट र सरसफाइको काम तीव्ररुपमा भइरहेको छ।
कमेन्ट गर्नुहोस्