ग्लास्गो, स्कटल्यान्ड — जलवायु परिवर्तनसम्बन्धी जारी २६औं सम्मेलन (कोप–२६) को अन्त्यतिर चीन र अमेरिकाले हरितगृह ग्यास उत्सर्जन कटौती गर्न आगामी दशकमा सँगै काम गर्ने घोषणा गरेका छन् । त्यस्तै जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई बढावा दिन पनि दुवै मुलुक सहमत भएका छन् ।
सम्मेलनमा सहभागी सबै मुलुकलाई चकित पार्ने हिसाबले बुधबार साँझ दुई देशले उत्सर्जन कटौती गर्ने संयुक्त घोषणापत्र जारी गरेका हुन् । पेरिस सम्झौतामा तोकिएको १.५ डिग्री सेल्सियस तापक्रम कायम राख्ने लक्ष्य हासिल गर्न दुवैले सँगै मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
कोप–२६ का बितेका १० दिन हरितगृह ग्यास उत्सर्जन कटौतीमा वास्ता नगरेको भन्दै दुवै मुलुकप्रति अरु मुलुकहरु रुष्ट बनेका थिए । बुधबार साँझ गरिएको सम्झौतालाई विश्लेषक र वैज्ञानिकहरुले चासोका साथ हिसाबले हेरेका छन् र यसले विश्वको तापक्रम १.५ डिग्रीमा सीमित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरेका छन् ।
दुवै देशले आगामी लक्ष्य हासिल गर्न बाँकी रहेको अन्तर बन्द गर्दै चरणबद्ध प्रयास जारी राख्ने सहमति गरेका छन् । सन् २०१५ को पेरिस सम्झौतामा १९७ मुलुकहरुले हरितगृह ग्यास उत्सर्जन कटौती गरेर विश्वको तापक्रम १.५ डिग्री सीमित गर्दै २ डिग्रीभन्दा बढ्न नदिने प्रण गरेका छन् । त्यसका लागि सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन आधाले कटौती गर्ने र सन् २०५० सम्म खुद शून्य (नेट जिरो) मा जाने महत्त्वाकांक्षी निर्णय लिइएको थियो ।
चीनका विशेष जलवायु दूत सी जनहुआ सन् २०२० को दशकमा जलवायु कार्यमा वृद्धि गर्ने घोषणाबारे चीन र अमेरिकाको संयुक्त वक्तव्यमा बुधबार बोल्दै ।तस्बिरः जेफ जे मिचेल
कमेन्ट गर्नुहोस्