दुबई — मार्कुस स्टोइनिस र म्याथ्यु वेडले ४० बलमा अविजित ८१ रनको साझेदारी गरेपछि अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ ।
स्टोइनिसले ३१ बलमा ४० र वेडले १७ बलमा ४१ रन बनाएपछि अस्ट्रेलियाले एक ओभरअगाडि नै १ सय ७७ रन बनाउँदै विजय लक्ष्य पूरा गर्यो । पहिलो पटक ट्वान्टी–२० विश्वकप जित्ने आसमा रहेको अस्ट्रेलियाले आइतबार हुने उपाधि भिडन्तमा न्युजिल्यान्डको सामना गर्नेछ । न्युजिल्यान्डले अघिल्लो दिन इंग्ल्यान्डको चुनौतीलाई ५ विकेटले पन्छाएको थियो । फाइनल पुगेका दुवै टोली नयाँ हुन् । जसले जिते पनि ट्वान्टी–२० विश्वकपको पहिलो उपाधि हुनेछ ।
प्लेयर अफ द म्याच वेडले साहिन साह अफ्रिदीको बलमा लगातार ३ छक्का प्रहार गर्दै खेलको अन्त्य गरेका थिए । त्यसअघिको बलमा हसन अलीले डिप मिडविकेटमा वेडको क्याच छाडेका थिए । वेडले २ चौका र ४ छक्का तथा स्टोइनिसले २ चौका र २ छक्का प्रहार गरे ।
ओपनर डेविड वार्नरले ४९ रन बनाए पनि सादाब खानको उत्कृष्ट बलिङमा पाकिस्तानले अस्ट्रेलियालाई नियन्त्रणमा राखेको थियो । अफ्रिदीले पहिलो ओभरमै कप्तान आरोन फिन्चलाई आउट गरेपछि सादाबले ४ विकेट लिए । उनले सोक्रममा ४ ओभरमा २६ रन खर्चे । वार्नरले ३० बल खेल्दै ३ चौका र ३ छक्कासहित ४९ रन बनाए । मिचेल मार्स २२ बलमा २८, स्टिभ स्मिथ ५ र ग्लेन म्याक्सवेल ७ रनमा आउट भए ।
यसअघि मोहम्मद रिजवान र फखर जमानको आक्रामक अर्धशतकमा पाकिस्तानले १७६–४ को स्कोर बनाएको थियो । रिजवानले ५२ बलमा सर्वाधिक ६७ रन बनाए । जमानले ३२ बलमा अविजित ५५ रन बनाउँदै रिजवानसँग दोस्रो विकेटमा ४६ बलमा ७२ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियाका बलरहरूलाई पावर प्लेमा अत्याउँदै रिजवानले कप्तान बाबर आजमसँग पहिलो विकेटमा ७१ रन जोडेका थिए । लेग स्पिनर एडम जाम्पाले यो साझेदारी तोडिदिए । प्रतियोगितामा कुल ३ सय ३ रन बनाइसकेका आजमले ३४ बल खेल्दै ५ चौकासहित ३९ रन बनाए ।
रिजवान र सोएब मलिक ज्वरो आएका कारण अस्ट्रेलियासँग खेल्नेमा शंका थियो । तर दुवैको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरूले खेलेका थिए । ‘रिजवान हिजो अस्पतालमा थिए तर उनी सेमिफाइनल खेल्न फिट रहे । उनले असाधारण बहादुरी देखाए,’ अस्ट्रेलियाका ब्याटिङ प्रशिक्षक एवं पूर्वओपनिङ ब्याटर म्याथ्यु हेडेनले भने ।
रिजवानले आक्रामक गतिलाई निरन्तरता दिँदै जाम्पाको बलमा छक्का प्रहार गरी क्रिकेट क्यालेन्डरको एक वर्षमा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने । उनीमाथि प्याट कमिन्सले गरेको बाउन्सर हेलमेटमा लागेको थियो र फिजियो मैदानमा आएर उनको परीक्षण गर्नुपरेको थियो ।
जोस हेजलउडको बलमा एक छक्का र एक रन बटुल्दै रिजवानले ४१ बलमा अर्धशतक पूरा गरेका थिए । त्यसपछि जमान चम्किए ।
उनले अन्तिम ओभरमा स्टार्कलाई लगातार दुई छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । रिजवानले जस्तै जमानले पनि कुल ३ चौका र ४ छक्का प्रहार गरे । अस्ट्रेलियाका मिचेल स्टार्कले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए ।
कमेन्ट गर्नुहोस्