दुबई — आईसीसी ट्वान्टी–२० विश्वकप फाइनलमा आइतबार अस्ट्रेलियाको सामना गर्न लागेका केन विलियम्सन नेतृत्वको न्युजिल्यान्डले एकै वर्ष दोस्रोपल्ट विश्वव्यापी प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिनेछ । दुवै टोलीले अहिलेसम्म ट्वान्टी–२० विश्वकप जितेका छैनन् । अस्ट्रेलिया र न्युजिल्यान्डले आफ्नो पुरानो प्रतिद्वन्द्वितालाई दुबईमा नवीकरण गर्दैछन् । दुवै टोली क्रिकेटको सबैभन्दा छोटो फर्म्याटको विश्वकप उपाधि पहिलोपल्ट जित्ने अभियानको नजिक छन् ।
जुनमा भारतलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको न्युजिल्यान्ड लगातार तेस्रोपल्ट आईसीसी प्रतियोगिताको फाइनल खेल्दै छ । सेमिफाइनलमा न्युजिल्यान्डले उपाधिको प्रमुख दाबेदार मानिएको इंग्ल्यान्डलाई हराएर सन् २०१९ को एकदिवसीय विश्वकप फाइनलमा बेहोरेको हारको बदला लिएको थियो । पहिलोपल्ट ट्वान्टी–२० विश्वकपको फाइनल खेल्न लागेको न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टेडले आफ्नो टोली अस्ट्रेलियाली चुनौती सामना गर्न उत्साहित रहेको बताएका छन् । फाइनलअघि चोटको समस्याले न्युजिल्यान्ड पिरोलिएको छ । विकेटकिपर डेभोन कोन्वे हात भाँचिएपछि टिमबाट बाहिर छन् । सेमिफाइनलमा आउट भएपछि हातले आफ्नै ब्याटमा हानेर निराशा प्रदर्शन गरेका उनको हात त्यही कारणले भाँच्चिएको हो ।
सेमिफाइनलमा जितका लागि निर्णायक प्रदर्शन गरेका जिमी निसमले अस्ट्रेलियाविरुद्धको फाइनल भावनात्मक हुने बताउँछन् । त्यसका लागि टिमले आफ्नो लय बिगार्न नहुने उनको भनाइ छ । निसमले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध ११ बलमा २७ रन प्रहार गरी खेलको नतिजा उल्ट्याएका थिए । न्युजिल्यान्डले एक ओभर बाँकी छँदै खेल जितेको थियो । आइतबार हुने खेलले सन् २०१५ को एकदिवसीय विश्वकप फाइनल पनि सम्झाउने छ । त्यतिबेला अस्ट्रेलियाले ७ विकेटले खेल जितेर पाँचौंपल्ट विश्वकप उपाधिमा कब्जा जमाएको थियो । आरोन फिन्च नेतृत्वको अस्ट्रेलियाले सेमिफाइनलमा उपाधिको प्रमुख दाबेदार पाकिस्तानलाई ५ विकेटले हराएको थियो ।
‘उनीहरूसँग यस्ता खेलाडीको समूह छ, जो वास्तविक म्याच विनर हुन्,’ न्युजिल्यान्ड प्रशिक्षक स्टेडले अस्ट्रेलियाली टिमबारे भने, ‘त्यसैले हामी आफ्नो योजनालाई जस्ताको तस्तै लागू गर्नेछौं । हाम्रा खेलाडीहरू सही लयमा छन् । हामीसँग त्यस्ता खेलाडीका लागि वास्तवमै स्पष्ट योजना छ, जसले खेललाई निकै छिटो अन्त्य गरिदिन सक्छन् ।’
बिहीबार पाकिस्तानले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया ९६/५ को कमजोर स्थितिमा पुगेको थियो । तर मार्कुस स्टोइनिस (४०) र म्याथ्यु वेड (४१) ले ८२ रनको अविजित साझेदारी गरेपछि एक ओभर बाँकी छँदै टोली खेल जित्न सफल भयो । वेडले तीब्र गतिका बलर साहिन साह अफ्रिदीमाथि लगातार तीन छक्का प्रहार गरेका थिए । त्यसमध्ये दुईवटा स्कुप प्रहार थियो । इनिङ्सको अन्त्यतिर यी दुईको ब्याटिङले दुबई रंगशालामा उपस्थित उल्लेख्य पाकिस्तानी समर्थकलाई चुप लगाइदिएको थियो ।
कमेन्ट गर्नुहोस्