नेपालगन्ज : नेपालगन्जमा धान खेत मासेर निजी वन लगाउन थालिएको छ। धानबाट भन्दा वनबाट बढी आम्दानी हुने भएकाले विभिन्न प्रकारका रूखबिरुवा लगाई यहाँका कृषकले मनग्य आम्दानी गर्न थालेका छन्।
नेपालगन्ज औद्योगिक क्षेत्रको शिखर प्लाई उत्पादन गर्ने मोर्डन रोज एन्ड उड प्रो प्रालिले बर्सेनि झन्डै ५०÷६० करोड रुपैयाँको भेनिएर (प्लाई उत्पादन गर्ने कच्चा पदार्थ) भारतबाट आयात गर्छ। ‘स्वदेशमै कच्चा पदार्थ किन उत्पादन नगर्ने भनेर उद्योगले वनकटवामा डेढ लाख, पार्वतीपुरमा एक लाख, नेपालगन्जमै दुईतीन हजार गरी जिल्लाका विभिन्न स्थानमा ३ लाख मसला (युकेलिप्टस्) का बिरुवा लगाएको छ’, उद्योगका सञ्चालक चम्पालाल बोथराले भने, ‘मसलाको १४ इन्चको काठबाट भेनिएर उत्पादन गर्न सकिन्छ। स्वदेशी कच्चा पदार्थबाट प्लाई उत्पादन गर्दा पैसा पनि देशमा रहन्छ। उत्पादन पनि सस्तो पर्छ।’ उद्योगले आफ्नै कच्चा पदार्थबाट प्लाई उत्पादन गरिरहेको छ। जिल्लामा धेरै बिरुवा लगाउनेमा बोथरा एक नम्बरमा पर्छन्।
जिल्लाका धेरै स्थानीय तहमा जग्गा लिजमा लिएर बिरुवा रोप्ने अर्का व्यक्ति हुन्, पूर्वरेन्जर बुद्धिबल श्रेष्ठ। श्रेष्ठले मसला र सगुनका बिरुवा लगाएका छन्। ‘जहाँ सस्तोमा जग्गा लिजमा पाइन्छ, त्यहाँ बिरुवा लगाउने गरेको छु’, श्रेष्ठले धेरै बिरुवा लगाउनुको राज खोले। उनले झन्डै १५ बिघा क्षेत्रफलमा ६० हजार बिरुवा लगाएका छन्। ‘खेतीपातीभन्दा १० गुणा बढी आम्दानी दिन्छ। मैले दुई बिघा क्षेत्रफलमा लगाएको मसलालाई प्रतिकिलो ६ रुपैयाँका दरका बेच्दा १४÷१५ लाख रुपैयाँ आम्दानी भयो। मेरो अपेक्षा त ५० लाख जतिकै थियो’, उनले अनुभव सुनाए।
खेतीबालीभन्दा धेरै गुणा बढी आम्दानी बिरुवाबाट हुने भन्दै अहिले बाँके जिल्लामा बाँझो होस् वा खेतीयोग्य जमिनमा बिरुवा रोप्ने लहर चलेको छ। जिल्लामा १५ देखि २० रुपैयाँमा पाइने युकेलिप्टसको हाइब्रिड बिरुवालाई ‘सुनको फुल पार्ने कुखुरी’ झैं एक बोटबाट ५ देखि १० वर्षमा १० हजार आम्दानी गर्ने रूपमा चित्रण गरिएको छ। उद्योगपति बोथरा एउटा बोटबाट १५ सयदेखि दुई हजार रुपैयाँ आउने प्रष्ट पार्छन्। यो आम्दानी पनि अन्य बालीभन्दा १० गुणाभन्दा बढी हुन्छ।
एकमुष्ट रूपमा धेरै आम्दानी हुने भएकाले पनि किसान सजिलो खेतीका रूपमा यो बिरुवा लगाउँदैछन्। नेपालगन्ज उपमहानगरपालिका–१७ ढोडेगाउँका सिद्धार्थविक्रम सिंह ठाकुरले तरकारी खेती गर्ने तीन कठ्ठा जग्गामा हाइब्रिड युकेलिप्टसका रूख रोपेका छन्। भन्छन्, ‘१ हजार ३ सय ५० बिरुवा छन्। २०÷२५ लाख रुपैयाँ त कसो नआउला ? एकमुष्ट रूपमा आउने रकमबाट कुनै व्यापार गर्छु।’
निजी वन लगाउनेहरू पारिवारिक निजी वन संघ नेपालमा संगठित भएका छन्। निजी वनका काठ फर्निचर र प्लाइउड उद्योगमा प्रयोग भइरहेको छ। संघको बाँके शाखामा आबद्ध निजी वन लगाउने किसानको संख्या ४ सय ५० छ । संघका लुम्बिनी प्रदेश सचिव किरण ढकालका अनुसार जिल्लाका सबै स्थानीय तहमा कोहलपुर नगरका साथै खजुरा, जानकी, राप्ती सोनारी र बैजनाथमा अलि बढी बिरुवा लगाइएको छ। उनी जिल्लामा कम्तीमा पनि चार सय बिघामा बिरुवा लगाइएको बताउँछन्। ढकालको आफ्नै पनि दुई बिघा क्षेत्रफलमा बिरुवा छ।
संघका केन्द्रीय अध्यक्ष जोगराज गिरी ‘चाँडै हुर्कने र धेरै मुनाफा लिन सक्ने बिरुवा’ रोपेर निजी वनबाट धेरैभन्दा धेरै मुनाफा लिन सकिने बताउँछन्। ‘वातावरण जोगाउनुका साथै किसानलाई अन्य बालीभन्दा बढी आम्दानी पनि दिएको छ।’ उनले भने। संघले देशका ६१ जिल्लामा शाखा विस्तार गरेर ‘एक परिवार, एक पारिवारिक निजी वन’ भन्ने नारासहित निजी वनको प्रवद्र्धन गरिरहेको छ।
डिभिजन वन कार्यालय बाँकेका अधिकृत ज्योति घिमिरेका अनुसार जिल्लामा २०५३ सालदेखि नै निजी वन दर्ता भएको छ। विगत चार वर्षयता निजी वन लगाउने बढेका छन्।
कमेन्ट गर्नुहोस्