वासिङ्टन: चीनका राष्ट्रपति सी जिनपिङले ताइवान मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएका छन्। दुई देशबीच मंगलबार भएको भर्चुअल बैठकमा चीनले यस्तो चेतावनी दिएको बीबीसीले जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमा एक पक्षीयरुपमा कुनै पनि बदलाव नगर्न चीनलाई सुझाएको थियो। उनले चीनका राष्ट्रपतिसँग भनेका थिए- 'अमेरिका यसको सधैं विरोधमा रहने छ।'
राष्ट्रपति सीले ताइवानको स्वतन्त्रताको समर्थन गर्नु भनेको आगोसँग खेल्नु बराबर रहेको बताएका थिए। उनले बाइडेनलाई चेतावनी दिँदै भनेका थिए, 'जो आगोसँग खेल्छ, अन्त्यमा त्यो जल्छ नै।'
दुई समकक्षीको बैठकपछि ह्वाइट हाउसले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिका 'वन चाइना पोलिसी'मा प्रतिबद्ध रहेको जनाएको छ। यो पोलिसी मान्ने देशले ताइवान चीनकै हिस्सा रहेको स्वीकार गर्ने बीबीसीले उल्लेख गरेको छ।
अघिल्लो महिना अमेरिकाले ताइवानबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए। चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले त्यसको बचाउ गर्ने बाइडेनले बताएका थिए।
आजको बैठकमा ताइवान, दुई देशबीचको व्यापार र मानवअधिकारसम्बन्धी मुद्दाबारे बृहत् छलफल भएको बताइएको छ। राष्ट्रपति बाइडेनले दुई देशबीचको प्रतिस्पर्धालाई टकरावको रुपमा नलिन आग्रह गरेका थिए।
यता चीनका विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले दुई नेताबीचको वार्ता रचानात्मक र लाभदायी भएको जानकारी दिएका छन्। 'यो वार्ताले दुई देशबीचको असमझदारीलाई रोक्न सहयोग गर्नेछ,' उनले भनेका छन्।
कमेन्ट गर्नुहोस्