काठमाडौँ — अन्तर्राष्ट्रियस्तरमा हुन गइरहेको सौन्दर्य प्रतियोगिताका लागि मिस नेपाल वर्ल्ड–२०२० का सुन्दरीहरू अन्तिम तयारीमा जुटेका छन् । हिडन ट्रेजरले बिहीबार राजधानीमा गरेको कार्यक्रममा सुन्दरीहरूले विश्वस्तरीय सौन्दर्य प्रतियोगितामा आफूहरूले दिने प्रस्तुति तथा परियोजनाबारे जानकारी दिएका छन् ।
मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ डिसेम्बर १६ मा प्युर्टो रिकोको सान जुआनमा हुने मिस वल्र्ड प्रतियोगितामा सहभागी हुन नोभेम्बर २० मा त्यसतर्फ प्रस्थान गर्दै छिन् । उनले त्यहाँ मिस वल्र्ड २०२१ ब्युटी विथ पर्पोज सामाजिक परियोजनाअन्तर्गत झोलुंगे पुलको संरचना प्रस्तुत गर्नेछिन् । श्रेष्ठको सक्रियतामा धादिङको नीलकण्ठ नगरपालिकास्थित थोपल खोलामा हालै पुल निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरिसकिएको छ । ७५ मिटर लम्बाइको पुल निर्माण गर्न ५० लाख रुपैयाँ लागेको श्रेष्ठले बताइन् ।
त्यस्तै, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ नोभेम्बर तेस्रो साता फिलिपिन्समा हुने प्रतियोगितामा भर्चुअल रूपमा सहभागी हुँदै छिन् । उनले नेपाल चिनाउने परियोजनामा ढुंगेधारामा पानी वितरण गर्ने प्राचीन प्रणालीलाई प्रस्तुत गर्ने जनाइन् । परियोजनाले नेपाल सानो र गरिब नभई सक्षम मुलुकको चिनारी दिने उनको विश्वास छ । ‘पृथ्वी जोगाउनु हामी सबैको दायित्व हो । मिस नेपालको यात्रापछि पनि मेरो लक्ष्यलाई म निरन्तरता दिनेछु,’ उनले भनिन् ।
जापानको टोकियोमा सम्पन्न हुने मिस इन्टरनेसनल समारोह भने कोभिड–१९ को महामारीका कारण रद्द भएको छ । यसका लागि मिस नेपाल इन्टरनेसनल सन्ध्या शर्मा सहभागी हुने तयारीमा थिइन् । मिस नेपाल सुप्रानेसनल सिमल कनौजियाले अगस्टमा पोल्यान्डमा सम्पन्न ‘मिस सुप्रानेसनल’ मा नेपालको प्रतिनिधित्व गर्दै स्वदेश फर्किसकेकी छन् ।
कमेन्ट गर्नुहोस्