काठमाडौँ, मङ्सिर ९ गते । बजारमा तरलताको समस्या कायम रहँदा नेपालको आयात भने चुलिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को कात्तिकसम्मको अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्कअनुसार नेपालबाट चार महिनामै वस्तु आयातबापत छ खर्ब ५० अर्ब रुपियाँ बाहिरिएको छ ।
यो अघिल्लो आवको चार महिनाको तुलनामा करिब ६२ प्रतिशतले बढी हो । गत कात्तिकसम्म नेपालले चार खर्ब रुपियाँ बरारबको वस्तु आयात गरेको थियो ।
कात्तिकसम्म सबैभन्दा बढी ३४ अर्ब ३३ करोड रुपियाँको वस्तु आयात गरेको छ । त्यसपछि १८ अर्ब ७५ करोड रुपियाँको कच्चा भटमास तेल, १८ अर्ब ६६ करोड रुपियाँको पेट्रोल, १७ अर्ब ६६ करोड रुपियाँको अर्धतयार फलाम तथा स्टिलका उत्पादन र १७ अर्ब ४३ करोड रुपियाँको एलपी ग्यास आयात भएको छ । सरकारले सबैभन्दा धेरै चिन्ता देखाएको सुन भने १० अर्ब ४३ करोड रुपियाँको आयात भएको देखिन्छ ।
नेपालले सबैभन्दा धेरै भारतबाट तीन खर्ब ८६ अर्ब रुपियाँको वस्तु आयात गरेको छ । त्यसपछि चीनबाट ९४ करोड ३० लाख, इन्डोनेसियाबाट २३ अर्ब २६ करोड, अर्जेन्टिनाबाट १९ अर्ब ९१ करोड र संयुक्त अरब इमिरेट्सबाट १८ अर्ब ३८ करोड रुपियाँको वस्तु आयात भएको तथ्याङ्क छ ।
आयात चुलिए पनि निर्यातमा भएको वृद्धि दरले व्यापार घाटा सामान्य भए पनि कम गर्न सहयोग पुगेको छ । कात्तिकसम्म नेपालले ८२ अर्ब १२ करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । जुन अघिल्लो कात्तिकको तुलनामा दोब्बरभन्दा
बढी हो ।
गत कात्तिकमा नेपालले ४० अर्ब ४० करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको थियो । यसबीचमा नेपालले सबैभन्दा धेरै २६ अर्ब ४० करोड रुपियाँको भटमास तेलको निर्यात गरेको छ । त्यसपछि सात अर्ब १९ अर्ब रुपियाँको प्रशोधित पाम तेल, तीन अर्बको गलैँचा, दुई अर्ब ३१ करोड रुपियाँको ऊनीका उत्पादन निर्यात भएको देखिन्छ ।
सबैभन्दा धेरै निर्यात भएका भटमास र पाम तेल भने नेपालले भारतसँगको व्यापार सहुलियत प्रयोग गरेर मात्र निर्यात गरिरहेको हो । कच्चा भटमास र पाम आयात गरेर त्यसको नेपालमा प्रशोधन गर्ने र भारतमा निर्यात गर्ने प्रचलन केही वर्षदेखि बढिरहेको छ । व्यापार सन्तुलनका लागि यस किसिमको निर्यात दिगो नहुने सरोकारवालाको भनाइ छ ।
चार महिनामा नेपालले पाँच खर्ब ६८ अर्ब रुपियाँको व्यापार घाटा बेहोरेको छ जुन अघिल्लो कात्तिकको तुलनामा करिब ५७ प्रतिशतले बढी हो । गत कात्तिकसम्म नेपालको व्यापार घाटाको आकार तीन खर्ब ६२ अर्ब रुपियाँ बराबर थियो ।
कमेन्ट गर्नुहोस्