काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैको पालो आउँछ भन्दै अहिले एकतामा प्रतिकूल असर नपार्न आग्रह गरेका छन्। चितवनमा जारी दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बोल्दै उनले भने, 'म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु। कसै न कसैले कुनै न कुनै ठाउँमा जिम्मेवारीहरु सम्हाल्नुपर्छ। तर आफ्नो महत्त्वाकांक्षाको कारणले अस्वस्थ होडबाजी, अस्वस्थ प्रतिस्पर्धा र प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने खालका गतिविधिहरु नगरौं।'
उनले कुनै न कुनै जिम्मेवारी सबैले सम्हाल्नुपर्ने बताए। उनले सानो भए पनि यस देशमा पालिकाहरु, प्रदेशहरु, प्रतिनिधि सभा, राष्ट्रिय सभालगायत निकायहरुमा अवसर पाउने आश्वासन दिए।
‘हामीसँग सानो भए पनि देश छ। यत्रा पालिकाहरु छन्। प्रदेशसभा छन्। प्रतिनिधिसभा छ, राष्ट्रिय सभा छ। अनेक शाखा, टोलदेखि केन्द्रीय कमिटीसम्म विभिन्न ठाउँहरु छन्। अहिले नभए अर्को समय आउँछ। हतारोका साथ प्रतिस्पर्था नगरौं। लोकतान्त्रिक अभ्यास भनेको प्रतिस्पर्धा मात्र होइन। यतिबेला सिंगो देशले हामीलाई हेरिरहेको छ,’ उनले भने।
कमेन्ट गर्नुहोस्