काठमाडौँ — जोखिम एकै स्थान र क्षेत्रमा केन्द्रित गर्न नहुने बिमाको सिद्धान्तविपरीत स्वदेशी कम्पनीमा मात्र पुनर्बिमा गर्नुपर्ने निर्देशनको बिमा समितिले बचाउ गरेको छ । उक्त निर्देशनको चौतर्फी विरोध भएपछि समितिले सोमबार ध्यानाकर्षणपत्र जारी गर्दै विदेशी मुद्रा स्वदेशमै राख्न बाध्यात्मक नीति जारी गर्नुपरेको प्रस्ट्याएको हो ।
यस विषयमा निजी क्षेत्रका संघसंगठन, बिमा कम्पनी र बिमा विज्ञहरूले विरोध गर्दै आएका छन् । जीवन बिमा कम्पनी र निर्जीबन बिमा कम्पनीका संघहरूले आइतबार छुट्टाछुट्टै बैठक बसेर उक्त विषयमा नियामक निकायसमक्ष आफ्नो धारणा राख्ने निर्णयसमेत गरेका छन् ।
मितिले पुनर्बिमाका सम्बन्धमा हालै बिमा कम्पनीहरूलाई दिएको निर्देशनलाई लिएर विभिन्न सञ्चार माध्यम र बिमक संघका केही पदाधिकारीबाट आएका धारणाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । आफ्नो निर्देशनलाई एकतर्फी रूपमा आफूखुसी रूपमा व्याख्या गरी जनमानस र सिंगो बिमाक्षेत्रलाई नै दिग्भ्रमित पार्ने काम भएको भन्दै यस्तो कदमलाई यथार्थहीन र भ्रमपूर्ण जानकारी भन्दै खेद प्रकट गरेको छ ।
‘देशमा हाल पुनर्बिमा व्यवसायको एकाधिकार अन्त्य भई दुईवटा पुनर्बिमा कम्पनी सञ्चालनमा रहेका कारण प्रतिस्पर्धी रूपमा पुनर्बिमा व्यवसाय गर्न सकिने अवस्था सिर्जना भएको र हाल मुलुकमा वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको तर पुनर्बिमाबापत ठूलो रकम बिदेसिने गरेकाले वैदेशिक मुदा सञ्चितिमा समेत योगदान पुर्याउनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको हो,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।
बिमा ऐन, २०४९ र बिमा नियमावली, २०४९ मा भएका व्यवस्थाबमोजिम समितिले बिमकले आफूले आर्जन गरेको बिमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्साका सम्बन्धमा हालको व्यवस्था कायम राखी प्रत्यक्ष हिस्सास्वरुप प्रदान गरिएको पुनर्बिमाबाहेक बाँकी हुन आउने सबै पुनर्बिमा व्यवसाय स्वदेशी पुनर्बिमकहरूलाई प्रदान गर्ने व्यवस्था गरिएको छ ।
कमेन्ट गर्नुहोस्