काठमाडौँ — जनसंख्याको ठूलो हिस्सा कोभिडविरुद्ध खोपको पहिलो डोजबाटै वञ्चित रहेका बेला पहुँचवालाले धमाधम बुस्टर डोज लगाइरहेको पाइएको छ । सरकारले बुस्टर डोजबारे कुनै निर्णय गरेको छैन तर केही स्वास्थ्यकर्मी, राजनीतिकर्मी र प्रशासकले बुस्टर डोज लगाउने क्रम एक सातायता तीव्र बनेको छ ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार बुस्टर डोजका रूपमा अस्ट्राजेनेका, भेरोसेल र फाइजर खोप लगाइएको छ । ‘बुस्टर डोज वा अतिरिक्त मात्रा जे नाम दिनुस्, यो लगाउने क्रम ठूलाबडाबाटै चलेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा त खोप लिइसकेकाले पहिलो डोज लगाउन आएको भन्दै खोप लिएको समेत पाइएको छ ।’
राजधानीकै एक चिकित्सकले आफूसहित धेरैले बुस्टर डोज लगाइसकेको बताए । धेरैजसोले पहिले लिएको कोभिसिल्ड, भेरोसेललाई नै बुस्टर डोजका रूपमा ०.५ एमएल लिएको र केहीले ‘मिक्स एन्ड म्याच’ रणनीतिअन्तर्गत फाइजर लिएको उनले बताए । शनिबारसम्म कुल जनसंख्याको ३७.१ प्रतिशत अर्थात् १ करोड १२ लाख ६० हजार ५ सय ४९ जनाले एक डोज र ३०.४ प्रतिशत अर्थात् ९२ लाख ४१ हजार २ सय ६१ जनाले पूर्ण खोप लगाएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पहुँचका भरमा बुस्टर डोज लगाउने क्रमलाई सरकारले तत्काल रोक लगाउनुपर्ने बताउँछन् । ‘मैले पनि यो बेथितिबारे सुनेको छु । सरकारले तत्काल नीतिगत निर्णय लिनुपर्छ । कसैले पनि पहुँचका आधारमा खोप लगाउने होइन । सरकारको नीति र प्रणालीअनुसार खोप उपलब्ध हुनुपर्छ ।’
राजधानीका केही ठूला अस्पतालका स्वास्थ्यकर्मीलाई दोस्रो डोज नलगाइएको भन्दै बुस्टर डोज दिइएको एक सरकारी अधिकारीले दाबी गरे । ‘दोस्रो डोज लगाएको छैन भन्दै राजधानीका करिब ९० प्रतिशत स्वास्थ्यकर्मी, केही नेता र कर्मचारीले बुस्टर डोज लगाइसकेका छन्,’ उनले भने, ‘यसरी खोप लिनेहरू एक लाखभन्दा बढी छन् ।’
कमेन्ट गर्नुहोस्