काठमाडौं : बङ्गलादेशमा जारी एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको छ। ढाका मिरपुरस्थित शाहिद सुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा साविक विजेता नेपालले कीर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो।
नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पार्यो भने दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै जीत हासिल गर्न सफल भयो। अपराजित रहेको नेपालले लिग चरणमा श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बङ्गलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो।
अब नेपालले उपाधिका लागि मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। सोमबारै भएको अर्को खेलमा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गदै फाइनलमा प्रवेश गरेको हो। -रासस
कमेन्ट गर्नुहोस्