मुम्बई : बलिउड अभिनेता शाहरूख खान चार वर्षपछि रंगीन पर्दामा फर्किएका छन्। सन् २०१८ मा ‘जीरो’ चलचित्रमा देखिएका शाहरूख करिब चार वर्षपछि सुटिङमा फर्किएका हुन्। ‘जीरो’पछि लामो समय अभिनयबाट टाढा रहेका शाहरूखले केही चलचित्रका लागि सम्झौता भने गरेका थिए।
पछिल्लो समय छोरा आर्यनका कारण शाहरूख लामो समय तनावमा परेका थिए। अक्टोबर ३ मा आर्यनलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)ले क्रुज सिपमा लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ गरेको थियो।
छोराका कारण आलोचना पनि खेपेका शाहरूख अहिले दिनहुँ सुटिङ स्पटमा देखिन थालेका छन्। शाहरूखको पछिल्लो दैनिकी ‘पठान’ चलचित्रको सुटिङमा बित्ने गरेको छ। बलिउडका अधिकांश कलाकार नयाँ वर्ष मनाउन व्यस्त भइरहँदा शाहरूख भने सुटिङमै समय बिताइरहेका छन्।
शाहरूख सुटिङमा व्यस्त रहँदाको तस्बिर सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ। सुटिङ सेटमा अभिनेता दिगंता हजारिकासँग खिचेको उनको तस्बिरले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ। केही हिन्दी र असामको चलचित्रमा काम गरिसकेका हजारिकाले नै शाहरूखसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका हुन्।
कमेन्ट गर्नुहोस्