नयाँदिल्ली — पार्टीको एक कार्यक्रममा भाग लिन पञ्जाब पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी किसानहरूको अवरोधका कारण त्यसै फर्किएका छन् । हजारौं किसानहरूले राजमार्गमै बाटो छेकेपछि मोदी कार्यक्रममा नपुगी फर्कन बाध्य भएका हुन् ।
घटनापछि केन्द्र सरकार र कांग्रेस नेतृत्वको राज्य सरकारबीच प्रधानमन्त्री मोदीको सुरक्षामा कमजोरी भएको भन्दै आरोप–प्रत्यारोप चलेको छ । भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले पनि राज्य सरकारको विरोध गर्दै वक्तव्यबाजीमा उत्रेका छन् । कांग्रेस नेता तथा पञ्जाबका मुख्यमन्त्री चरणजित सिंह चन्नीले भाजपा नेताहरूले अनावश्यक रूपमा आरोप लगाएका भन्दै सुरक्षा तयारीमा कुनै कमी नभएको बताएका छन् ।
प्रधानमन्त्री मोदी बुधबार पार्टीको र्यालीमा सहभागी हुन पञ्जाब पुगेका थिए । उनी हुसैनीबालामा रहेको राष्ट्रिय सहिद स्मारक जाँदै गर्दा हजारौं किसानले करिब ३० किलोमिटर वरै राजमार्ग अवरुद्ध गरेका थिए । त्यसपछि कार्यक्रम नै रद्द गरेर मोदी फर्किएका हुन् ।
अवरोधका कारण मोदी करिब २० मिनेट सडकमा रोकिएपछि विमानस्थल फर्किएका हुन् । भंटिडा विमानस्थलमा आएपछि मोदीले त्यहाँका अधिकारीहरूसँग भनेका थिए, ‘आफ्नो मुख्यमन्त्रीलाई धन्यवाद भनिदिनू– म विमानस्थलसम्म जिउँदै फर्किन पाएको छु ।’
केन्द्रीय गृह मन्त्रालयले पञ्जाब सरकारबाट सुरक्षामा कमजोरी भएको दाबी गर्दै राज्य सरकारसँग जवाफ मागेको छ । मुख्यमन्त्री चन्नीले प्रधानमन्त्रीको सुरक्षाका लागि सम्पूर्ण तयारी भएको र कुनै कैफियत देखिए सम्बन्धितलाई कारबाही गरिने जनाएका छन् ।
कमेन्ट गर्नुहोस्