मुम्बई : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण पछिल्लो समय बलिउड चलचित्रहरूले धमाधम रिलिज मिति पर सार्न थालेका छन्। निकै आशा गरिएको बलिउड चलचित्र ‘८३’ ले सोचे अनुरुप व्यापार गर्न नसकेपछि त्यसको प्रत्यक्ष असर रिलिज हुन लागेका चलचित्रहरूमा पनि परेको हो।
गत डिसेम्बर ३१ मा रिलिज मिति घोषणा गरेको चलचित्र ‘जर्सी’ले रिलिज मिति अनिश्चितकालका लागि पर सारेको थियो। गौतम तिन्नौरी निर्देशित चलचित्र ‘जर्सी’ एक क्रिकेट खेलाडीको काल्पनिक कथामा आधारित छ। जसमा उसको संघर्ष र सफलतालाई प्रस्तुत गरिएको छ। ‘जर्सी’ सन् २०१९ मा निर्माण भएको तेलगु चलचित्रको भर्सन हो। चलचित्रमा शाहिद कपुर र मृणाल ठाकुरले मुख्य भूमिका निर्वाह गरेका छन्।
‘जर्सी’ले रिलिज मिति पर सारेपछि मल्टी स्टारर ‘आरआरआर’ पनि रिलिजबाट पछि हटेको थियो। अहिले अक्षयकुमारको ‘पृथ्वीराज’ले पनि रिलिज मिति पर सारेको छ। शुक्रबार रिलिज हुने तय भएको बहुप्रतिक्षित ‘आरआरआर’का लागि निर्माण टोलीले करोडौं रुपैयाँ पनि खर्च गरेको थियो। प्रचारका लागि सिंगै भारत घुमेको निर्माण टोलीले अन्ततः रिलिजबाट पछि हटेको हो। चलचित्रले प्रमोसनकै लागि २० करोडभन्दा बढी खर्च गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न राज्यमा सिनेमा हल बन्द हुन थालेपछि जनवरी २१ मा रिलिज हुने भनिएको अक्षयकुमार र पूर्व मिस वल्र्ड मानुषी छिल्लर अभिनित चलचित्र ‘पृथ्वीराज’ले पनि रिलिज मिति पर सारेको छ। यशराज ब्यानरले निर्माण गरेको यो चलचित्र ऐतिहासिक कथामा आधारित छ। चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका पनि छन्।
बलिउड चलचित्रले सर्वाधिक कमाइ गर्ने महाराष्ट्रमा ५० प्रतिशत मात्र अकुपेन्सीमा हल सञ्चालन गर्न पाइने नियम बनाएको छ। त्यहाँ राति ८ बजेपछि हल बन्द गर्नुपर्ने नियम छ। राजधानी दिल्लीका सबै हल पूर्ण रुपमा बन्द भइसकेका छन्। आन्द्र प्रदेश र तमिलनाडुमा पनि ५० प्रतिशत अकुपेन्सीमा मात्र हल चलाउन पाइने नियम बनाइएको छ। यसले गर्दा करोडौं रुपैयाँमा बनाइएका चलचित्रले लगानी नै नउठ्ने देखेपछि रिलिज मिति धमाधम सार्न थालेका छन्।
कमेन्ट गर्नुहोस्