मेलबर्न : बेलायती टेनिस स्टार इम्मा राडुकानु अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छन्। र्याकेटले हातको छाला उप्काएपछि १९ वर्षीया राडुकानु मोन्टेनेग्रोकी डंका कोभिनिकसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन्।
प्रतिस्पर्धात्मक खेलमा अमेरिकी (यूएस) ओपन विजेता राडुकानु ४–६, ६–४, ३–६ को सेटमा स्तब्ध बनेकी हुन्। तेस्रो सेटमा ३–० को अग्रता बनाए पनि हातमा चोट बोकेपछि उनले ३–६ ले कोभिनिकलाई नतिजा सुम्पिएकी थिइन्। कोभिनिक ग्रान्डस्लाम टेनिसको अन्तिम ३२ मा पहिलो पटक पुगेकी हुन्। यसअघिका अधिकांश प्रतियोगितामा उनी पहिलो वा दोस्रो चरणमै पराजय बेहोर्दै आएकी थिइन्।
‘राडुकानुसँग खेल्दा निकै राम्रो अनुभव भएको थियो। उनी निकै प्रतिभावान खेलाडी हुन्। अहिलेसम्म कुनै पनि ग्रान्डस्लामको तेस्रो चरणमा पुग्न सकेको थिइनँ। पहिलो पटक तेस्रो चरणमा पुग्दा निकै खुसी लागेको छ’, कोभिनिकले भनिन्।
१९ वर्षीया राडुकानुले महिला एकल टेनिसको ग्रान्डस्लाम जित्ने बेलायतको ४४ वर्षको प्रतिक्षा समाप्त पार्दैै गत वर्ष यूएस ओपन टेनिसको उपाधि जितेकी थिइन्। सन् १९७७ मा भर्जिनिया वेडले विम्बल्डन जितेपछि बेलायतका कुनै पनि महिला खेलाडीले ग्रान्डस्लामको उपाधि जित्न नसकेको अवस्थामा राडुकानुले ४४ वर्षपछि उपाधि दिलाएकी थिइन्। वाइल्ड कार्डका रुपमा यूएस ओपनमा प्रवेश पाएकी राडुकानु ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी समेत बनेकी छन्।
सन् २००४ पछि ग्रान्डस्लाम जित्ने राडुकानु सबैभन्दा कान्छी खेलाडी पनि हुन्। सन् २००४ मा रुसी टेनिस सुन्दरी मारिया सारापोभाले विम्बल्डन जित्दै ग्रान्डस्लाम जित्ने सबैभन्दा कान्छी खेलाडीको कीर्तिमान बनाएकी थिइन्। यसैगरी विश्व नम्बर तीन स्पेनिस खेलाडी गार्बिन मुगुरुजा र विश्व नम्बर ६ एनेट कोन्टाभेटले पनि पराजय बेहोरेका छन्। मुगुरुजा फ्रान्सकी एलिज कर्नेटसँग ६–३, ६–३ ले स्तब्ध भइन्। कोन्टाभेट डेनमार्ककी क्लारा टाउसनसँग ६–२, ६–४ ले स्तब्ध बनेकी छन्।
यसैगरी पुरुषतर्फ पूर्व विश्व नम्बर एक खेलाडी एन्डी मुरेले पनि पराजय बेहोरेका छन्। क्वालिफायरबाट वर्षको पहिलो ग्रान्डस्लाम खेलिरहेका जापानका तारो ड्यानिलसँग स्तब्ध हुँदै मुरे प्रतियोगिताबाट बाहिरिएका हुन्।
कमेन्ट गर्नुहोस्