एजेन्सी : ९४ औं एकेडेमी (ओस्कार) अवार्डमा प्रतिस्पर्धा गर्ने चलचित्रहरूको सूचीमा मनिषा कोइराला अभिनीत फिल्म ‘इन्डिया स्विट्स एन्ड स्पाइसेस’ पनि अटाएको छ। विभिन्न विधामा प्रतिस्पर्धा गर्ने २ सय ७६ वटा चलचित्रको नाम सार्वजनिक गरिएको छ।
यो सूचीमा आफू अभिनीत चलचित्र पनि परेको कोइरालाले आफ्नो इन्स्टाग्राममार्फत यसको जानकारी दिएकी छिन्। २०२१ मा रिलिज भएको यो चलचित्रको अमेरिकी कमेडी ड्रामाको निर्देशन र लेखक गीता मलिकले गरेकी हुन्। १९ नोभेम्बर २०२१ मा अमेरिकामा यो चलचित्र रिलिज भएको थियो। यसमा सोफिया अली, मनिषा कोइराला, ऋष शाह र आदिल हुसैनले काम गरेका थिए।
ओस्कार अवार्डको घोषणा २७ मार्चमा हुनेछ। त्यसअघि २७ जनवरीदेखि १ फेब्रुअरीसम्म मनोनयनका लागि भोटिङ गर्न सकिनेछ। ८ फेब्रुअरीमा ओस्कारमा मनोनयन हुने चलचित्रहरूको अन्तिम सूची सार्वजनिक हुनेछ।
यसैबीच ९४औं संस्करणको ‘ओस्कर एकेडेमी अवार्ड’ ले पुनः होस्ट पाउने भएको छ। सन् २०१८ पछि यो विश्व प्रतिष्ठित अवार्डले होस्ट पाउन लागेको हो। सन् २०१९ यता ओस्कार होस्टबिना हुँदै आएको थियो। हुलु ओरिजिनल्स र एबीसी इन्टरटेनमेन्टका प्रमुख क्रेग एविर्चले यस पटकको ओस्कार होस्टसहित आउने बताए पनि अवार्ड कसले होस्ट गर्ने भन्ने केही खुलाएका छैनन्। सन् २०१७ र २०१८ को ओस्कर अवार्डको होस्ट जिमी किमेलले गरेका थिए। सन् २०१९ मा केविन हार्टले होस्ट गर्ने भने पनि उनले वर्षांै पुरानो समलैंगिक ट्विटका लागि माफी नमागेपछि अवार्ड आयोजकले बिनाहोस्ट कार्यक्रम गर्ने निर्णय लिएको थियो।
पछिल्लो एक दशकमा अवार्डमा क्रिस रक (२०१६), नील पेट्रिक हेरिस (२०१५), एलेन डिजेनरेस (२०१४), सेठ मेकफर्लेन (२०१३), बिली क्रिस्टल (२०१२) र जेम्स फ्रेंको तथा ऐनी हेथवे (२०११)ले होस्ट गरेका थिए। सन् २०१९ को जस्तै एबीसीले सन् २०२० मा पनि होस्टबिना नै अवार्ड गर्ने निर्णय लिएको थियो। तर त्यो अवार्डमा दर्शकले चासो देखाएनन्।
सन् २०२१ मा कोरोनाका कारण ढिलो भएको अवार्ड युनियन स्टेसनबाट प्रसारण भएको थियो। जसका कारण आयोजकले आधाभन्दा बढी दर्शक गुमाउनु परेको थियो। यहीकारण ९४औं संस्करणको अवार्डका लागि होस्टलाई पुनः ल्याउने निर्णय गरिएको हो।
कमेन्ट गर्नुहोस्