काठमाडौँ — फलाम खानीमाथि बनेको फिल्म आग्रे (द आइरन डिगर) साउथ एसिया फिल्म फेस्टिभलमा छनोटमा परेको छ । विभिन्न देशबाट प्राप्त ३ हजार फिल्ममध्ये प्राप्त ६४ फिल्ममा अनिल बुढामगर निर्देशित यो फिल्म पनि छनोटमा परेको हो ।
सरकारले फलाम उत्खनन् गर्न रोक लगाएपछि फलाम उत्खनन् गरी जीविकोपार्जन गरेका रोल्पाका एक वृद्धको जीवनमा कसरी परिवर्तन आयो भन्ने कथालाई कलात्मक रुपमा देखाएको छ । साथै फलाम खानीमा श्रम गरी आम्दानी गर्दैआएका गाउँलेको जीवनमा देखिएको ह्रास फिल्ममा देखाइएको छ ।
'जेलबाङ सेवा समाजले फलाम खानीको विषयवस्तु लिएर मसँग जोडिनुभयो । मलाई खोजेर मोटो रकम तिरेर फिल्म बनाउने र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पठाउने उहाँहरुको सपना थियो । त्यो सपना र जिम्मेवारी पूरा गर्न सक्छु या सक्दिन ? हिजोसम्म मेरा लागि परिक्षा थियो । आग्रे फिल्मलाई सबैभन्दा पहिला साउथ एसियाबाट सुरु गरेका थियौं,' निर्देशक अनिल फेसबुकमा लेख्छन्, 'अहिले यो फेस्टिभलमा फिल्म छनोटमा पर्दा निर्माताहरुले मप्रति गरेको आशा, जिम्मेवारी र विश्वास पूरा गरेको छु भन्ने महसुस भएको छ ।'
फिल्म ५१ मिनेट लामो छ । अप्रिल २१ देखि २४ सम्म आयोजना हुने फेस्टिभलमा फिल्म प्रदर्शन गर्ने भएको छ । फिल्मकर्मी अनिल बुढाले यसअघि उच्च पहाडी क्षेत्रमा रहेका भेडी गोठ र त्यहाँका किसानको कथा समेटिएको फिल्म 'लोम्बा' बनाएका थिए। 'लोम्बा'का लागि उनले विभिन्न फेस्टिभलबाट प्रशंसा पाएका थिए ।
कमेन्ट गर्नुहोस्