काठमाडौं : थ्री स्टार क्लब छैटौं स्थानमा रहँदै ए डिभिजन लिगको यो सिजन अन्त्य गरेको छ। आफ्नो अन्तिम खेलमा शुक्रबार थ्री स्टारले ब्रिगेड ब्वाइजसँग १–१ गोलको बराबरी खेल्यो।
लिगका १३ खेलमा थ्री स्टारले ४ जित, ७ बराबरी र २ हारसहित १९ अंक जोडेको छ। थ्री स्टारले सन् २०१७ मा एएफसी कप खेलेको थियो। गत सिजन चौथो स्थानमा रहेको थ्री स्टार यो सिजन छैटौं स्थानमा पुगेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार डोना थापाले गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको थियो।
डोनाले इन्जुरी समयको चौथो मिनेटमा गोल गरेका हुन्। ५६औं मिनेटमा प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए। ब्रिगेड १३ खेलमा ८ अंक जोडेर तालिकाको १३औं स्थानमा रहँदै बी डिभिजनमा घटुवा भएको छ। लिगमा ब्रिगेडले १ जित, ५ बराबरी र ७ हारको नतिजा दर्ता गरेको छ। शुक्रबारै दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबले पनि १–१ गोलको बराबरी खेल्दै लिग टुंग्याएका छन्।
१४औं मिनेटमा सुनील खड्काले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। खेलको ६१औं मिनेटमा संकटाका उत्तम राईले गोल गर्दै खेल बराबरी गरे। जावलाखेल ३ जित, ५ बराबरी र ५ हारसहित १४ अंक जोडेर दसौैं स्थानमा छ। ३ जित, ७ बराबरी र ३ हारसहित संकटाले यो सिजनको लिगमा १६ अंक जोडेको छ। ऊ तालिकाको सातौं स्थानमा छ। लिगअन्तर्गत शनिबार अन्तिम ३ खेल हुँदैछन्।
कमेन्ट गर्नुहोस्