काठमाडौँ — घण्टौं पैदल हिँडेर गाउँ फर्कनेहरुको ताँती । थाकेका गोडाका पानी फोका । नाकामा थुप्रिएको भीड । अटसमटस फुलेका झोला, पोका पन्तुरा । लकडाउनले रित्तिएको भान्सा । भोक मेटाउन खुला मञ्चमा खाना पर्खिरहेकाहरू । घरबेटीको किचकिच । घरभाडा तिर्न नसक्दा बासै गुमाउनु परेका परिवार । खोसिएको जागिर, रोकिएको सपना । लाचार सरकार । भोक, अभाव र छटपटी । झिनो आशा । कोरोना महामारीले दिएका पीडा र चोट, सामान्य बन्दै गएको दैनिकीले लगभग बिर्साइसक्यो ।
महामारीले दिएको यस्तै घाउ र चोट सम्झाउने नाटक अहिले कौशी थियटरमा मञ्चन भइरहेको छ । विषम् परिस्थितिमा बाँच्न संघर्ष गर्नेहरुको कथालाई 'सालैजो'को लयमा उनेर निर्देशक आशान्त शर्माले 'ढल्केको सालैजो' निर्देशन गरेका हुन् ।
सालैजोको मिठो लय र महामारीले सिर्जित पीडाको संयोजन, नाटक 'ढल्केको सालैजो'को मुख्य कथा वृहस्पतिको हो । उनी हातैले बुनेको सालैजो कार्पेटका व्यवसायी । महामारीकै कारण ९ महिना बन्द भएको कार्पेट पसललाई फेरि खोलेका छन् ।
तर पसलको ११ महिनाको भाडा घरबेटी शंकरलाई तिर्न सकेका छैनन् । शंकरमार्फत लिएको ५० लाख ऋण पनि फिर्ता गर्न सकेका छैनन् । शंकर वृहस्पतिलाई पसलको भाडामा किचकिच गर्न आइरहन्छन् । भाडा र ऋण तिर्न ३ महिनाको म्याद तोकेर शंकर फर्कन्छन् । साथी सोभितले नै शंकरलाई तीन महिनाभित्र वृहस्पतिले उक्त रकम तिर्न नसके आफैंले तिरिदिने आश्वासन देखाएर थामथुम पार्छन् ।
इमानलाई शीरोपर र मिहेनतलाई कर्म बनाएका वृहस्पतिले कार्पेट पसलको भाडा, ५० लाख ऋण कसरी चुकाउलान् ? सालैजोको लयमा वृहस्पतिको संघर्ष, दु:ख, अभाव र बाध्यताका धुन घन्किन थाल्छ ।
नाटकले महामारीपछि आफ्नो परिस्थितिबाट उठ्न खोजिरहेकाहरूको कथा प्रस्तुत गरेको छ । स्थानीय उत्पादन, व्यवसाय एवं साँस्कृतिक गतिविधिमा संलग्नलाई महामारीले कसरी थिच्यो भन्ने पनि नाटकमा देखाइएको छ । कार्पेट पसल छेवैको अर्को पसल बन्द गरेर बसेका व्यापारी रमन, कलाकारिताले बाँच्न गाह्रो भएपछि बुटिकतिर लागेकी रोजी, 'टुरिस्ट गाइड' टुगाले गरेको विदेशीको पर्खाइले ती क्षेत्रका मानिसको दु:खको भ्रमण गराइदिन्छ ।
प्रतिक र हिमानीको प्रेम, कार्पेट किन्न आइरहने पात्रहरुले कथालाई रोचक बनाएको छ । देशको राजनीतिक स्थिति, महामारी, सामाजिक बेथितिसँगै निकट मित्रहरुको प्रहार र साँस्कृतिक आक्रमणबाट रन्थनिएका वृहस्पतिले सुनौलो भविष्यका आसामा चालेको कदमलाई मर्मस्पर्शी ढंगबाट नाटकमा प्रस्तुत गरिएको छ । महामारीसँग जुधेका आम मानिसका लागि नाटक निकै निकट लाग्न सक्छ ।
त्यसबेलाको संघर्ष, उकुसमुकुस अनि दु:खको दृश्य देखाउँदै वर्तमान समस्याका पहाडलाई सामना गर्न नाटकले उर्जा थपिदिन्छ । महामारीले दिएको आलो घाउमाथि आसाको मल्हम लगाउन सिकाउँछ । दु:खलाई सालैजोको लयमा गाउन लगाउँछ । नाटकको सुरुकै दृश्यमा वृहस्पति भन्छ :
'बिरहको भाकामा सालैजो गीत गाउँ, गाउँ लाग्छ...
के छ र सानु मरेर लानु, सालैजो रित्ता दुई हातै लिई
जलेरै जानी हुने खरानी, सालैजो गंगाको घाटै नि
नाच्दा र गाउँदा मनै रमाउँदा, सालैजो जुनी काट्छ साथै नि
मनैको दुख बिर्सिए सुख, सालैजो भुलाउने बाटै नि
(हिजोलाई आज आजलाई भोलि नसोचे सानु, जेहोली त्यैहोली)' २
निर्देशक शर्माकै लेखनमा तयार भएको नाटकले निम्नमध्यम वर्गीय मानिसको कथालाई मनछुने शैलीमा प्रस्तुत गरेको छ । सालैजोको संगीत नाटकको महत्वपूर्ण पक्ष हो । सालैजोको शब्द, संगीतले कथालाई अझ बलियो बनाइदिएको छ । वृहस्पतिका छोरा प्रतीक र हिमानीको प्रेमलाई अलि लामा दृश्यमा प्रस्तुत गरिएको छ । टुगा र रमनको बाघचालको दृश्यमा गरिने 'बाघ र गोटी'माथिको संवाद व्यंगात्मक लाग्छ । टुगाले प्रश्न गर्छ,'कतै हामी बाघ बन्ने दौडमा गोटी त बनिरहेका छैनौं ?' अभावमा मानवता बिर्सिदिने मामा, दिदीजस्ता आफन्तहरुको आश्वासनसँग पनि नाटकले साक्षात्कार गराइदिन्छ । शंकरले किचकिचे घरबेटीको शास्तीलाई मञ्चमा यसरी उतारिदिन्छन् कि आँखैअगाडि वास्तविक घरबेटी घुम्न आइपुग्छन् ।
नाटकमा प्रयोग गरिएका प्रप्स प्रशंसा लायक छन् । 'सालैजो कार्पेट'मा राखिएका कार्पेट, छेवैको बिक्रीमा रहेको पसल, त्यहाँ झुन्डाइएको विज्ञापनलगायतले वृहस्पतिको ठाउँ स्थापित गराइदिन्छ । वृहस्पतिको दु:ख, इमान्दारिता र संघर्षलाई अभिनेता रोय श्रेष्ठले मञ्चमा अभिनयमार्फत जीवन्त बनाइदिएका छन् । अनोज पाण्डेले सोभितको चरित्रलाई विश्वासिलो ढंगले मञ्चमा उतारेका छन् ।
छोटो भूमिकामा देखिएकी 'दिदी'को चरित्रमा सरला पराजुलीले तारिफ लायक अभिनय गरेकी छन् । उनको गायन पनि अभिनय जतिकै मिठो र सुन्दर थियो । कलाकार प्रभाकर न्यौपानेले पनि शंकरको भूमिकामा मिहेनत गरेको देखिन्छ । प्रयास बन्तवा राईले रमनभित्रको मानवता, सहयोगी भावना र पीडालाई दुरुस्तै प्रस्तुत गरिदिएका छन् ।
रोजीको भूमिकामा संगीता थापा मगर अलि 'लाउड' लाग्छिन् । प्रतीक र हिमानीको चरित्रमा देखिएका अजश्र ढुंगाना र हेना नगरकोटीले आफ्नो चरित्रमा अझै मिहेनत गर्नुपर्ने देखिन्छ । अनुवादित नाटकहरुको भीडमा 'ढल्केको सालैजो'मार्फत निर्देशक आशान्तले आफ्नो लेखन र निर्देशकीय कलालाई अझै फराकिलो बनाएका छन् । महामारी नै बाधा बनेको समयमा सोभितजस्तो खल पात्र उभ्याइरहनु जरुरी लाग्दैन ।
यद्यपि महामारीको अवधिमा राज्यको उदासिन चरित्र जस्तो देखिएको थियो, त्यसको गहिराइमा नाटक पुग्न सकेको छैन । देशभर महामारीको संकट फैलिरहँदा आम मानिसको जीवन महामारीबाट मात्रै प्रभावित थिएन । त्यसको समाधान वा व्यवस्थापनमा राज्यले देखाएको गैरजिम्मेवारपन उत्तिकै जिम्मेवार थियो । जुन कुरालाई नाटकले नजरअन्दाज गरिदिएको छ ।
वास्तविक महामारीलाई फर्केर हेर्दा राज्यका अंगहरूले काम गर्न नसक्दा जस्तो संकट झेल्नुपर्यो, त्यो अवस्था नाटकमा देखिँदैन । संकटमा सरकारले वा जनप्रतिनिधिले अभिभावकीय भूमिका नखेल्दा भोग्नुपरेका थप समस्यालाई नाटकले देखेन । नाटकमा अधिकांश पात्रहरू घरबेटी, ऋणदाता र व्यवसायीलाई जसरी देखाइएको थियो वास्तविकता यस्तो पनि थिएन । कतिपय भाडामा व्यवसाय गर्नेहरूले घरबेटीको किचकिच त सहनुपर्यो, त्यसभन्दा बढी सतावट राज्यबाटै भएको थियो । जुन पीडाको गहिराइमा नाटक पुग्नसक्ने ठाउँ थियो ।
कमेन्ट गर्नुहोस्