नयाँदिल्ली — पाँच राज्यमा भएको विधानसभा चुनावमा पराजय भोगेपछि भारतीय कंग्रेसमा गान्धी परिवारको नेतृत्वमाथि पार्टीभित्रैबाट प्रश्न उठ्न थालेको छ । वरिष्ठ नेताहरूले पार्टीको नेतृत्व गान्धी परिवारभन्दा बाहिर ल्याएर सामूहिक नेतृत्वका आधारमा पार्टी चलाइनुपर्नेमा जोड दिएका छन् ।
नयाँदिल्ली — पाँच राज्यमा भएको विधानसभा चुनावमा पराजय भोगेपछि भारतीय कंग्रेसमा गान्धी परिवारको नेतृत्वमाथि पार्टीभित्रैबाट प्रश्न उठ्न थालेको छ । वरिष्ठ नेताहरूले पार्टीको नेतृत्व गान्धी परिवारभन्दा बाहिर ल्याएर सामूहिक नेतृत्वका आधारमा पार्टी चलाइनुपर्नेमा जोड दिएका छन् ।
विधानसभा चुनावमा कंग्रेसको नेतृत्व मुख्य रूपमा राहुल गान्धी र प्रियंका गान्धीले गरेका थिए । सबैतिर खराब परिणाम आएपछि गान्धी परिवारको नेतृत्वमाथि कडा प्रश्न तेर्सिएका छन् । यस्ता प्रश्न सन् २०१९ को लोकसभा चुनावदेखि नै उठ्न थालेका थिए । केही वर्षयता पार्टीको कमान्ड मुख्य रूपमा सोनिया, राहुल र प्रियंका गान्धीमा सीमित छ ।
भाजपाले गान्धी वरिपरि रहने कंग्रेसको नेतृवलाई चुनावी एजेन्डा नै बनाउँदै आएको छ । प्रधानमन्त्री एवं भाजपा प्रमुख नरेन्द्र मोदीले कंग्रेसमाथि कटाक्ष गर्दै परिवारवाद र वंशवाद लोकतन्त्रका लागि सुहाउँदो विषय नभएको बताउँदै आएका छन् । भाजपाले चलाएको ‘परिवारवाद र वंशवाद’ विरुद्धको नाराले कंग्रेसलाई हानि पुर्याएको कंग्रेसभित्रैका एकथरी नेताहरूको पनि बुझाइ छ ।
कंग्रेसभित्र गान्धी परिवारको नेतृत्वमाथि प्रश्न उठाउने जी–२३ (२३ नेताहरूको समूह) पुनः सक्रिय भएको छ । चुनावी परिणामपछि उनीहरूले लगातार बैठक गरिरहेका छन् । पूर्वकेन्द्रीय मन्त्री तथा जम्मु–कश्मीरका पूर्वमुख्यमन्त्री गुलाम नबी आजादले त्यसको अगुवाइ गरिरहेका छन् । समूहमा कपिल सिब्बल, आनन्द शर्मा, शशि थरुर, मनीष तिवारी, विवेक तन्खा, सन्दीप दीक्षित, राज बाब्बर, मणिशंकर अय्यर, कुलदीप शर्मालगायत नेता सहभागी छन् ।
समूहका पछिल्ला बैठकमा गुजरातका पूर्वमुख्यमन्त्री शंकर सिंघ वाघेला, पञ्जाबका पूर्वमुख्यमन्त्री रजिन्दर कौर, हरियाणाका पूर्वमुख्यमन्त्री भूपिन्दर सिंह हुँडा र महाराष्ट्रका पूर्वमुख्यमन्त्री पृथ्वीराज चौहान पनि सहभागी छन् । आफ्नो विपक्षमा वरिष्ठ नेताहरूको संख्या बढ्दै गएपछि गान्धी परिवारमाथि दबाब झन् बढेको छ । त्यही दबाबको फलस्वरूप पार्टी अध्यक्ष सोनिया गान्धीले जी–२३ का नेता गुलाम नबी आजादसँग शुक्रबार आफ्नो निवासमा भेटवार्ता गरेकी छन् । १० जनपथस्थित गान्धी निवास पुग्नु अगाडि आजादले कांग्रेसका पुराना वरिष्ठ नेता करण सिंहसँग पनि भेटेका थिए । नेता सिंह पनि पार्टीले गति लिन नसकेको प्रति चिन्तित छन् ।
कुनै पनि हालतमा पार्टी विभाजित हुन नदिने तर नेतृत्व गान्धी परिवारभन्दा बाहिर ल्याइनुपर्नेमा जी–२३ का नेताहरू सहमत देखिएका मिडिया रिपोर्टहरूमा उल्लेख छ । तर, गान्धी परिवारको विकल्पमा नेतृत्व कसले लिने भन्ने विषयमा भने नेताहरूबीच छलफल भएको छैन । उनीहरूले सन् २०२४ मा हुने लोकसभा चुनावमा भाजपाविरुद्धको जनमतलाई एकत्रित गर्न कंग्रेस नयाँ योजनाका साथ सामूहिक भावना लिएर अगाडि बढ्नुपर्ने र सामान विचारधाराका पार्टीहरूसँग सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।
गान्धी परिवारमाथि प्रश्न उठाउँदै जी–२३ समूह सक्रिय भएसँगै त्यस समूहमाथि प्रहार गर्नेहरू पनि अगाडि देखिन थालेका छन् । गान्धी परिवारका समर्थक नेताहरूले अवसर लिने बेलामा पार्टीभित्रको लोकतन्त्र नहेरेको ती नेताहरूलाई अहिले त्यस्तो प्रश्न उठाउने नैतिक आधार नरहेको दाबी गरेका छन् । छत्तिसगढ राज्यका मन्त्री टीएस सिंहदेवले ‘कपिल सिब्बलले सधैं पार्टी र नेतृत्वको अपमान’ गरेको आरोप लगाएका छन् । उनले वरिष्ठ नेता सिब्बललाई पार्टीबाट निकाल्नुपर्ने मागसमेत गरेका छन् ।
कंग्रेसमा गान्धी परिवारको नेतृत्वमाथि प्रश्न उठेको यो पहिलो पटक भने होइन । यस्तै प्रश्न उठेपछि सोनिया गान्धीले पटक–पटक पार्टीको नेतृत्व छोड्ने प्रस्ताव गरेकी थिइन् । तर, पार्टी बैठकले त्यसलाई अस्वीकार गर्दै आएको छ । सन् १९९९ मा विदेशी मूलको व्यक्ति भन्दै नेतृत्वमा बस्न नहुने प्रश्न उठाइएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन् । तर, पार्टी बैठकले त्यसलाई अस्वीकार गरेपछि उनले राजीनामा फिर्ता लिएकी थिइन् ।
सन् २०१४ मा पार्टीले लोकसभा चुनावमा पराजय भोगेपछि पनि पार्टी अध्यक्ष सोनिया र उपाध्यक्ष रहेका उनका छोरा राहुलले राजीनामा दिन खोजेका थिए । तर, त्यतिबेला पनि नेतृत्वमा रहिरहन पार्टी बैठकले उनैलाई अख्तियारी दिएको थियो । हिन्दी पत्रिका नवभारत टाइम्सका अनुसार सोनियाले कम्तीमा ४ पटक राजीनामाको प्रयास गरेपनि पार्टीले अस्वीकार गरेको छ । सन् २०१९ को लोकसभा चुनावताका राहुल पार्टी अध्यक्ष थिए । पार्टी चुनावमा हारेपछि राहुलले राजीनामा दिएका थिए । पार्टीले उनको राजीनामा अस्वीकार गरे पनि उनी नेतृत्व लिन तयार नभएपछि पुनः उनकी आमा सोनियालाई अन्तरिम अध्यक्ष बनाइएको थियो । त्यसयता पार्टीको अन्तरिम अध्यक्षका रूपमा सोनियाले नेतृत्व गर्दै आएकी छन् ।
आसन्न विधानसभा चुनावमा पार्टीले पराजय भोगेपछि राष्ट्रिय अध्यक्ष सोनियाको मागमा कंग्रेसका पञ्जाब अध्यक्ष नवजोत सिंह सिद्धु, उत्तरप्रदेश अध्यक्ष अजयकुमार लल्लु, उत्तराखण्डका अध्यक्ष गणेश गोदियाल, गोवा अध्यक्ष गिरीश चोडनकर र मणिपुर अध्यक्ष नमेइरकपैनम लोकन सिंहले राजीनामा दिइसकेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार यसपटक नेताहरूमा सोनियाभन्दा पनि राहुललाई लिएर असन्तुष्टि बढी छ । पार्टीको अन्तरिम अध्यक्ष सोनिया भए पनि सबै निर्णयमा राहुलको प्रभाव रहने गरेको असन्तुष्ट नेताहरूको आरोप छ । राहुलले पार्टीका वरिष्ठ नेतालाई ‘बाइपास’ गरेर काम गर्ने गरेको उनीहरूको बुझाइ छ ।
कमेन्ट गर्नुहोस्