कोलम्बो : श्रीलंकाको राष्ट्रपति निवासबाहिर बिहीबार भएको हिंसात्मक प्रदर्शनपछि देशभर संकटकाल घोषणा गरिएको छ ।
श्रीलंकाका राष्ट्रपति र सरकारविरुद्ध जनताले लगातार विरोध प्रदर्शन गरिरहेका छन् । यस्तो अवस्थामा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देशमा संकटकाल लगाउने निर्णय गरेका हुन् ।
बिहीबार राष्ट्रपति राजापाक्षेको निवास बाहिर शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन सुरु भएको प्रदर्शनमा सहभागीहरूले बताए। उनीहरुले प्रहरीले अश्रुग्यास, पानीको फोहोरा प्रहार गर्दा हिंसात्मक भएको दाबी गर्छन्।
जवाफमा प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा हानेका थिए । झडपमा कम्तिमा दुई दर्जन प्रहरी घाइते भएका बीबीसी समाचारमा उल्लेख छ। शुक्रबार ५३ जना प्रदर्शनकारीलाई गिरफ्तार गरिएको र पाँच जना फोटोग्राफरलाई प्रहरी चौकीमा हिरासतमा राखी यातना दिइएको एएफपी समाचार संस्थाले जनाएको छ।
सरकारले पत्रकारमाथि दुर्व्यवहार गरेको घटनामा छानबिन हुने जनाएको छ । श्रीलंका स्वतन्त्र भएपछि सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ। मूल्यवृद्धि र खाद्यवस्तुको अभावका कारण जनता मारमा परेका छन् ।
कोलम्बो साउथ, कोलम्बो नर्थ, कोलम्बो सेन्ट्रल र नुगेगोडा पुलिस डिभिजनबाट कर्फ्यू लागेको जानकारी प्राप्त भएको छ। संकटकाल लगाउने निर्णयका सम्बन्धमा सरकारले देशको सुरक्षा र सेवा सही तरिकाले सुचारु गर्न यो आवश्यक भएको बताएको छ ।
हाल श्रीलंकामा १ अप्रिलदेखि आपतकाल लागु भएको छ । बिग्रिएको आर्थिक अवस्थाका कारण जनता राष्ट्रपतिप्रति आक्रोशित छन् । राष्ट्रपति निवासबाहिबरबाट सुरु भएको विरोध प्रदर्शन अहिले श्रीलंकामा जताततै देखिन थालेको छ । जनता र प्रहरीबीच झडपका घटना सार्वजनिक भइरहेका छन्।
विद्युत, पेट्रोल–डिजेल र यातायात सेवा नराम्ररी प्रभावित भएको छ । जनताले अभाव भोगिरहेका छन् । विद्यार्थीसँग पेपर अभाव भएकाले परीक्षा पनि स्थगित भएको छ । यस्तो अवस्थामा श्रीलंकाका जनतामा निराशाको वातावरण छ र उनीहरु सडकमा उत्रिएका छन् ।
कमेन्ट गर्नुहोस्