काठमाडौँ — नेपथ्य ब्यान्डले पाँच दशकअघि कवि मञ्जुलले लेखेको कवितालाई गीतको रुपमा सार्वजनिक गरेको छ । २०६८ तिर काठमाडौंबाट पूर्वी पहाड संखुवासभा पैदल यात्राका क्रममा नेपथ्यका गायक अमृत गुरुङले भाका भरेका थिए ।
मञ्जुलले भने आफू १९ वर्षको हुँदा यो कविता कोरेका थिए । २०२४ मा प्रकाशित कविता संग्रहमा प्रकाशित यो कविता नै नेपथ्यको नयाँ गीत बनेको छ । नेपथ्यले नयाँ गीतलाई युट्युबमा सार्वजनिक पनि गरेको छ ।
'धेरै पहिले यसलाई कविता संग्रहमा पढेको थिएँ,’अमृत भन्छन्, ‘कविता संग्रह पढ्दा पनि यही रचना बारम्बार पढेकोले कण्ठस्थै थियो ।' पैदल यात्राकै क्रममा कवि मञ्जुलले यो गीत कोरेका थिए । 'रामेश दाइहरुले गरेको पदयात्रामा आधारित गीतीयात्रा संस्मरण ‘सम्झनाका पाइलाहरु’का डोब पछ्याउँदै करिब एक दशकअघि म पनि पैदलै पूर्वतर्फ लागेको थिएँ,'उनले भने,'ओखलढुंगाको गोरेटोमा हिँड्दा हिँड्दै एउटा दृश्यले मलाइ यस्तरी रोमाञ्चित बनाइदियो जसले फेरि त्यस पुरानो कविताको सम्झना भयो ।'
नयाँ गीतलाई नेपथ्यले दमक कन्सर्टमा पनि प्रस्तुत गरिसकेको छ । गीतमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका छन् ।
कमेन्ट गर्नुहोस्