काठमाडौं, असोज ११ गते । अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा सानदार जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले हरायो ।
नेपालले सबै गोल पहिलो हाफमा गरेको थियो । नेपालको जितमा अन्जन विष्टले पहिलो हाफमै ह्याट्रिक पूरा गर्नुभएको हो । १८औं मिनेटमा खाता खोल्नुभएका अन्जनले २७औं र ३८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको थियो । उहाँ अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने नेपालका छैटौं खेलाडी समेत बन्नुभएको छ ।
यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गर्नुभएको थियो । यससँगै अन्जनले राष्ट्रिय टोलीका लागि ब्यक्तिगत १० गोल गर्नुभएको छ । बंगलादेशका लागि सजाद होसेनले ५५औं मिनेटमा एक गोल गर्नुभयो ।
यसैबीच बंगलादेशविरुद्ध खेलबाट नेपालका ऋतिक खड्का र आशिष चौधरीले राष्ट्रिय टोलीमा डेब्यू गर्नुभएको छ । ऋतिक ८१औं मिनेटमा सेसेहाङ आङ्देम्वेको स्थानमा तथा आशिष विमल घर्तीमगरको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्