काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा एमालेको संविधान संशोधनको एजेण्डा स्वागतयोग्य भएको बताएको छ। पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पार्टीको बैठकले संविधान संशोधनको एजेण्डा स्वागतयोग्य भएको र यसलाई अगाडि बढाउन आफूले सहयोग गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
संविधान परिवर्तन गर्नुपर्ने पार्टीको पुरानो धारण भएको बताउँदै उनले ढिलै भएपनि ठूला दुई दल कांग्रेस र एमालेले संविधान संशोधनको एजेण्डा ल्याउनु सुखद भएको प्रतिक्रिया दिए।
'यो संविधानले काम गरेन यो संविधानमा आमूल परिवर्तन नगरिकन हुन्न र यसका लागि नेपालका सबै राजनीतिक दलहरूका बीचमा एउटा नयाँ समझदारी बन्नुपर्छ। देश पछाडि फर्केर पनि सक्दैन र यही बसेर पनि सक्दैन। नयाँ संझौता गरेर देशलाई अगाडि बढाउनुपर्छ भनेर भनिराखेका थियौं। अहिले कांग्रेस र एमालेले नयाँ सहमति बनाएका छन्। यो सहमतिको मूल प्वाइन्ट भनेको संविधान संशोधन हो,'उनले भने,' संविधान संशोधनका लागि प्रमुख दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने भन्ने कुरा आयो। यसलाई हामीले स्वागतयोग्य विषय मानेका छौं ।'
नयाँ सरकारमा सहभागीता जनाउनेबारे राप्रपाले पछि निर्णय लिने उनको भनाइ छ। कांग्रेस र एमालेबीच संविधान संशोधनसहित सत्तासहकार्य गर्ने ७ बुँदे सहमति भएको छ। सहमति भने औपचारिक रुपमा सार्वजनिक गरिएको छैन।
कांग्रेस सभामपति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संविधान संशोधनसहित आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। सहमतिअनुसार पहिला अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र डेढ वर्षपछि सभापति देउवाले सरकारको नेतृत्व गर्नेछन्।
हाल एमालेले अर्थसहित ९ मन्त्रालय र गृहसहित १० मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ।
कमेन्ट गर्नुहोस्