काठमाडौं, असोज ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवका अवसरमा आइतवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति पौडेलले आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर, आँंगनसम्म पुर्याउन शासन सञ्चालनमा बसेकालाई घच्घच्याएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा अझ जिम्मेवार भएर काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अङ्गका रुपमा सम्मान प्राप्त भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र राज्यको चौथो अङ्गको रुपमा पत्रकारिता जगतले पाएको सम्मानलाई जीवन्त राख्न सक्दछ भन्ने म ठान्दछु । यसमा नेपाली पत्रकार सचेत र सजग हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार यी तीनवटै लोकतन्त्रका आधारस्तम्भ हुन् ।’
उहाँले प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयमले निष्पक्ष, स्वतन्त्र तथा सिर्जनात्मक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारिताको विश्वसनीयता कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न काउन्सिलजस्ता निकाय स्थापना गरेर समयानुकल आचारसंहिता बनाउने तथा कार्यान्वयन भए नभएको अनुगमन गर्ने जिम्मेवारी प्रदान गरिएको हो ।’
राष्ट्रपति पौडेलले सूचना प्रविधि र इन्टरनेटको विकाससँगै अनलाइन न्यूजपोर्टल र सामाजिक सञ्जालको विकासले तिव्र सूचना प्राप्तिको आम मानिसको चाहनालाई पूरा गर्न मद्दत गरेको बताउदै सत्यतथ्य, आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषण नै आमसञ्चार माध्यमको व्यावसायिक र प्राथमिक दायित्व भएको स्मरण गराउनुभयो ।
उहाँले न्यूमिडिया र बढ्दो सामाजिक सञ्जालसँगै तिव्र सूचना सम्प्रेषण गर्ने प्रतिस्पर्धाले गलत सूचना प्रवाह हुनेतर्फ सचेत हुनुपर्ने आजको आवश्यकता भएको बताउदै यसतर्फ प्रेस काउन्सिलजस्ता अनुगमनको जिम्मेवारी पाएको अभिभावकीय संस्थाले प्रमुख र प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले काउन्सिललाई अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने लोकतन्त्रको मूल मान्यताप्रति गम्भीर बन्दै मिथ्या र गलत सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने अहिलेको चुनौतीको सजगतापूवर्क सामना गर्न शुभकामना दिनुभयो ।
काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवका अवसरमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार अखण्ड भण्डारीलाई र प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्री सिग्देललाई प्रदान गरिएको छ । साथै काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सव विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि विभिन्न व्यक्तित्वलाई सम्मानित गर्नुभयो ।
कमेन्ट गर्नुहोस्