काठमाडौं, कात्तिक ११ गते । विश्वमा स्तन क्यान्सरको समस्या बढ्दै गएको छ । ग्लोबोक्यान सन् २०२० को तथ्याङ्क अनुसार प्रत्येक दिन नेपालमा ६ जनामा स्तन क्यान्सर हुनुका साथै तीन जनाको मृत्यु स्तन क्यान्सरको कारणले हुने गर्छ ।
अमेरिकन क्यान्सर सोसाइटीको तथ्याङ्कअनुसार अमेरिकामा प्रत्येक आठ जनामध्ये एक जनामा स्तन क्यान्सर हुने गर्छ । स्तन क्यान्सर रोग विशेषज्ञ उपप्राध्यापक डा. सुजिता हिराचननेपालमा ४० वर्षमुनिका महिलामा स्तन क्यान्सरको जोखिम बढ्दै गएको बताउनुहुन्छ ।
उहाँका अनुसार स्तन क्यान्सर भएर अस्पतालमा आएकामध्ये एक तिहाइ ४० वर्षमुनिका र दुई तिहाइ ४० वर्ष माथिका छन् । स्तन क्यान्सर महिलामा मात्र नभई पुरुषलाई पनि हुने उहाँ बताउनुहुन्छ । एक प्रतिशत पुरुषमा स्तन क्यान्सर हुने गर्छ । डा. हिराचनका अनुसार स्तनमा भएका कोषहरुको अनियन्त्रित विकासलाई स्तन क्यान्सर भनिन्छ ।
स्तन क्यान्सर बढ्नुको कारण
डा. हिराचनका अनुसार हालसम्म स्तन क्यान्सर के कारणले हुन्छ भन्ने यकिन कारण पुष्टि भैसकेको छैन । अस्वस्थकर खानपान तथा जीवनशैली, अत्यधिक मद्यपान, वंशाणुगत कारणले स्तन क्यान्सरको जोखिम बढ्ने अनुमान गरिएको डा. हिराचनले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “हालसम्म के कारणले क्यान्सर हुन्छ भन्ने एकिन थाहा नभए पनि मोटोपन, तनाव, धूमपान, मद्यपान गर्ने, रेडियसनको एक्पोजर भएमा क्यान्सरको जोखिम बढ्ने गर्छ ।”
उहाँका अनुसार शरीरमा हुने हर्मोनको उतारचढावले क्यान्सरको जोखिम बढ्ने गर्छ । डा. हिराचन भन्नुहुन्छ,“युवा उमेरमा महिलालाई करियर,पढाइ, परिवारलगायत विभिन्न कुराको जिम्मेवारीले गर्दा तनाव बढी हुन्छ । तनावले हर्मोनलाई गडबड गराउँछ । लामो समयसम्म हर्मोनको गडबड हुँदा स्तन क्यान्सरको जोखिम बढ्छ।”
विषादी मिश्रित खानेकुराले क्यान्सरको जोखिम बढ्ने डा.हिराचनको भनाइ छ । उहाँका अनुसार जङ्क फुड, धेरै प्रशोधन गरिएका तथा विषादी मिश्रित खानेकुरा,केमिकलयुक्त कस्मेटिक (स्याम्फु,साबुन, गाजल, लिपिस्टिक) जस्ता सामग्रीको प्रयोग तत्काल असर नदेखिए पनि लामो समय प्रयोग गर्दा क्यान्सरको जोखिम बढाउने गर्छ ।
जोखिम समूह
परिवारका कुनै सदस्यलाई क्यान्सर छ भने त्यस्ता मानिसलाई क्यान्सर हुने सम्भावना १० प्रतिशतले बढ्छ । ढिला सन्तान जन्माउने (पहिलो बच्चा ३५ वर्षपछि जन्माउने), पूर्ण स्तनपान नगराउने, लामो समयसम्म गर्भनिरोधक औषधी सेवन गर्ने, धूमपान–मद्यपान गर्ने, रेडियसनको एक्स्पोज भएका मानिसमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ । छिटो महिनावारी हुने र ढिला महिनावारी सुक्ने महिला पनि क्यान्सरको जोखिममा हुने उहाँ बताउनुहुन्छ । वायु प्रदूषणको कारणले पनि यसको जोखिम बढ्छ ।
लक्षणहरु
बिरामीमा फरक फरक लक्षण देखिने गर्छ । डा. हिराचनले शरीरमा नदुख्ने गाँठो आउने स्तन क्यान्सरको प्रमुख लक्षण भएको बताउनुहुन्छ । त्यसका अलावा स्तनको मुन्टा भित्र जाने, मुन्टाबाट पिप, रगत आउने, छालामा घाउ भएर लामो समयसम्म निको नहुने, काखीमा गिर्खा आउने जस्ता लक्षण देखिने गर्छन् ।
क्यान्सरको पहिचान कसरी गर्ने
जनचेतनाको अभावले गर्दा बिरामी ढिला गरी अस्पताल आउने उहाँ बताउनुहुन्छ । स्तन संवेदनशील अङ्ग भएकाले डल्लो आए पनि नभन्ने लुकाउने प्रवृत्तिले गर्दा रोग ढिला गरी पत्ता लाग्ने उहाँको अनुभव छ ।
डा.हिराचनले आफ्नो स्तनको आफैँ परीक्षण गर्दा समयमा नै रोग पत्ता लगाउन सकिने जानकारी दिनुभयो । उहाँका अनुसार ऐनामा हेरेर हातले छामेर स्तनमा गाँठा भए–नभएको जाँच गर्नुपर्छ ।
यसका साथै ४० वर्ष कटेका महिलाले वर्षमा एकपटक ‘म्यामोग्राम’ जाँच गराउन सकिन्छ । ४० वर्ष मुनिका महिलाले ३ वर्षमा एकपटक स्तनको भिडियो एक्स–रे गराएर विशेषज्ञ देखाउन चिकित्सकको सुझाव छ । यदि स्तनमा गाँठा देखिएमा मासुको जाँच (बायोप्सी)को माध्यमबाट क्यान्सर भए नभएको पत्ता लगाउन सकिन्छ ।
उपचार
डा. हिराचनका अनुसार समयमा नै क्यान्सर पत्ता लगाएमा स्तन काटेर फाल्नुपर्दैन । जति ढिला रोग पत्ता लगायो उति नै जटिल उपचार आवश्यक पर्ने उहाँ बताउनुहुन्छ । कहिलेकाहीँ किमो दिएर घाउ सुकाएर मात्र शल्यक्रिया गर्नुपर्छ । सबै बिरामीलाई रेडियोथेरापी र हर्मोन थेरापी आवश्यक पर्दैन ।
क्यान्सर हुन नदिन के गर्ने
क्यान्सरबाट बच्न जीवनशैली परिवर्तन गर्नुपर्छ । नियमित शारीरिक व्यायाम गर्ने, सन्तुलित खाना खाने, चिकित्सकको सल्लाह बिना जथाभावी औषधी सेवन नगर्ने, कस्मेटिक सामग्रीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन उहाँको सुझाव छ । हर्मोनयुक्त औषधी प्रयोग गर्दा विशेषज्ञ चिकित्सकको सल्लाहमा मात्रै खान उहाँको आग्रह छ।
यसलाई नियन्त्रण गर्न सरकारले के गर्नुपर्छ
स्तन क्यान्सरलाई छिटो पहिचान गर्न सकेमा उपचार सम्भव भएकाले सरकारले देशैभर तीव्रगतिमा स्तन क्यान्सरको नियमित परीक्षण गर्न आवश्यक रहेको उहाँको ठहर छ ।
राज्यस्तरबाटै समयमा नै रोग पत्ता लगाउन सकियो भनेमात्र रोगलाई छिटो नियन्त्रण गर्न सकिने डा. हिराचन बताउनुहन्छ । त्यसका साथै सातै प्रदेशमा क्यान्सर उपचार गर्ने अस्पताल खोल्नुका साथै क्यान्सरलाई आवश्यक पर्ने उपकरणमा लगानी गर्न सकेमा ,आवश्यक जनशक्ति थप्न सकेमात्र क्यान्सर नियन्त्रण सम्भव हुने उहाँको भनाइ छ ।
कमेन्ट गर्नुहोस्