काठमाडौँ, मङ्सिर ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताउनुभएको छ ।
उहाँले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित नेपालका निधि नामक पुस्तक लोकार्पण गर्नुहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जबाफदेही र सुशासन पहिलो सर्त भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो–‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य मान्यता अनि पवित्रतालाई धुमिल बनाउने अवस्था आउन दिन हुँदैन । यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु ।’
राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनः स्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि सङ्ग्रहणीय सामग्री हुने स्पष्ट पार्नुभयो ।
उहाँले महेन्द्रनारायण निधि बिपी कोइराला र समाजवादी नेता डा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित हुनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै उहाँले देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गर्नुभएको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो–‘जहानियाँ राणाशासन र एकदलीय पञ्चायत मात्र होइन रुढीवादी, पछौटेपन तथा कुसंस्कारबाट मुक्त गरी नेपाली समाजलाई परिवर्तनको उज्यालो मार्गमा अघि बढाउन निधिजीले खेल्नुभएको भूमिका सदैव अनुकरणीय छ । राजनीतिक राजनीतिक जीवनका अनेकौँ उतारचढावका दिनमा मैले निधिजीलाई अत्यन्त, धैर्यवान्, सरल, सादगी नेताका रूपमा चिन्ने र बुझ्ने मौका पाएको छु ।’
कमेन्ट गर्नुहोस्