काठमाडौँ — जेन–जी पुस्ताका गौरव विके नयाँ बानेश्वरस्थित सिभिल अस्पतालको शय्यामा गोलीको दुखाइ बोकेर सुतिरहेका छन् । कलेज पोसकामै छन् उनी ।
गौरवको देव्रे हातमा प्लास्टर गरिएको छ । भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेन–जीहरूको आन्दोलनमा सरिक थिए उनी । त्यही क्रममा उनको हातमा अचानक गोली लाग्यो । गौरव बेहोस भए । होस आउँदा उनी सिभिल अस्पतालको शय्यामा थिए ।
‘धेरै रगत गइरहेको थिएँ । मलाई त्यहाँ भएका साथीहरूले ल्याउनुभएको रहेछ । धन्न बाँचेँ,’ अस्पतालमा उपचार गराइरहेको क्रममा उनी भन्छन् ।
अहिले गौरवको आफन्त कोही पनि अस्पताल आइपुगिसकेका छैनन् । बर्दियामा भएका बालाई आन्दोलनमा जानुअघि फोन गरेका थिए । ‘तिमीहरूले गरेको आन्दोलन हो । जाँदा हुन्छ,’ बाले फोनमा भनेका थिए । तर आन्दोलनमा सरकारले ज्यानै लेला भन्ने सोचेका समेत थिएनन् ।
घरबाट कोही आइपुगिनसक्दा गौरवलाई कुरुवाको खाँचो परिरहेको छ । ‘तपाईंको कोही साथीभाइ छ भने बोलाउनुस् न । एकजना त चाहिन्छ नै,’ स्वास्थ्यकर्मीहरुले उनलाई आग्रह पनि गरे ।
सिभिलमै उपचार गराइरहेका अर्का बिरामी अभिषेक गोलेको त गोलीले देव्रे कुम नै छेडेको थियो । उनलाई सम्झना छ, ‘२ बजेको थियो । पछाडि फर्किने बेला मलाई गोली लाग्यो । काँध छेडेर गयो । हातबाट तपतप रगत चुहिन थाल्यो ।’ उनी घिस्रिँदै गइरहेका थिए । त्यही क्रममा अभिषेकलाई मान्छेहरूले स्कुटीमा हालेर लैजाँदै थिए । ‘त्यहीबेलामा अर्कोलाई नि लाग्यो । उसको अवस्था मेरोभन्दा गम्भीर थियो । म ओर्लेर उसलाई चढाएर पठाएँ । पछि मलाई साथीहरूले ल्याए,’ उनी सुनाउँछन् ।
अभिषेक अहिले ललितपुरस्थित आदर्श कलेजमा स्तानक दोस्रो वर्षमा मेजर इङ्लिस पढिरहेका छन् । डेढ वर्ष दुबईमा मजदुरी गरेर अब नेपालमै केही गर्छु भनेर उनी फर्किएका थिए । ‘हिजोको अवस्थाले त अब झनै देशमा बस्ने मनै मरेको छ । किनकि राज्यले नै हामीलाई मार्न खोजिरहेको थियो । फर्की भनिरहेको छ,’ अभिशेष दु:खी सुनिन्छन्, ‘भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउने कलिला बच्चाहरूलाई मार्ने सरकारबाट पनि कसरी शासित हुन सकिन्छ ?’
कमेन्ट गर्नुहोस्