दमक, फागुन १७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले नेपालको वर्तमान राजनीति अत्यन्त संवेदनशील अवस्थामा रहेको बताउनुभएको छ ।
केही दिनदेखि झापाको दमकमा रहनु भएका अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले देश निर्माण र विध्वंसबिच स्पष्ट छनोट गर्नुपर्ने समय आएको उल्लेख गर्दै राष्ट्रको भविष्य जोगाउने अभियानमा लाग्न सबैमा आग्रह गर्नुभयो ।
अहिलेको अवस्था सामान्य राजनीतिक मतभेद मात्र नभई राष्ट्रिय अस्तित्व, स्थायित्व र लोकतान्त्रिक प्रक्रियासँग प्रत्यक्ष जोडिएको विषय हो, उहाँले भन्नुभयो । फागुन २१ गतेको निर्वाचनमा देश बनाउने शक्तिलाई रोज्न उहाँको अपिल छ । देश जोगाउने कि जलाउनेबिचको संघर्ष निर्वाचनबाट फैसला हुने उहाँको भनाइ छ ।
देशमा अस्थिरता सिर्जना गरी राजनीतिक लाभ लिन खोज्नु राष्ट्रहित विपरीत हो, उहाँले भन्नुभयो, “देश पहिले, दल र व्यक्ति पछि हो, यो विषयलाई मतदाताले आत्मसात गर्नुपछ ।” सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नु जनताको सपना जलाउनु सरह भएको अध्यक्ष ओलीको भनाइ छ ।
राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र स्वतन्त्रता विरुद्धमा कहिल्यै सम्झौता नहुने बताउँदै उहाँले ।गलत सूचना र उक्साहटको पछि नलागी सत्य, तथ्य र विवेकका आधारमा धारणा बनाउन आग्रह गर्नुभयो ।
राष्ट्रिय एकता, आत्मसम्मान र साझा लक्ष्यका आधारमा अघि बढे मात्र मुलुक सुरक्षित र समुन्नत बन्न सक्ने उहाँले चर्चा गर्नुभयो । हिंसा, अराजकता र विध्वंसले दीर्घकालीन समाधान नदिने भन्दै उहाँले शान्ति, संयम र कानुनी मार्गलाई पछ्याउन सबैमा अपिल गर्नुभयो । अहिलेको अस्थिर राजनीतिलाई स्थीर बनाउन र देश जोगाउन निर्वाचनमार्फत सही फैसला गर्न उहाँले मतदाताहरुसँग आग्रह गर्नुभयो ।
कमेन्ट गर्नुहोस्