काठमाडौँ, फागुन २४ गते । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सय ६५ क्षेत्रमध्ये १४ क्षेत्रमा नारी विजयी भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १३ र नेपाली कांग्रेसका एक गरी जम्मा १४ महिला विजयी हुनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल उम्मेदवार सङ्ख्या तीन हजार ४०६ रहेको थियो । जसमध्ये महिला उम्मेदवार ३८८ जना र पुरुष उम्मेदवारको सङ्ख्या तीन हजार १७ रहेको थियो ।
राजनीतिक दलबाट दुई हजार २६३ र स्वतन्त्र उम्मेदवारको सङ्ख्या एक हजार १४३ रहेको थियो ।
कोशीबाट चार जना
कोशी प्रदेश अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार जना महिला विजयी हुनुभएको छ । झापा–१ बाट निशा डाँगी (२९ वर्ष), झापा–२ बाट इन्दिरा राना मगर (५५ वर्ष), मोरङ–५ बाट आशा झा (४२ वर्ष), मोरङ–६ बाट रुबिना आचार्य (३१ वर्ष) हुनुभएको छ ।

झापा–१ बाट डाँगी ४५ हजार ६८० मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४, नेकपा (एमोले) का रामचन्द्र उप्रेतीले सात हजार ६५९ मत प्राप्त गर्नुभयो ।
झापा–२ मा मगर ६० हजार ११० मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले सात हजार २९१ र नेपाली कांग्रेसका सरिता प्रसाईले पाँच हजार ६१६ मत प्राप्त गर्नुभयो ।

मोरङ–५ मा झा ३० हजार ४३४ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फुलकुमार लालवानीले ९ हजार ४१५ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालका राजकुमार यादवले आठ हजार ७४७, नेपाली कम्युनिस्ट पार्टीका शिवकुमार मंडलले आठ हजार ६१४, नेकपा (एमाले) का मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत प्राप्त गर्नुभयो ।
मधेसबाट तीन जना
मधेस प्रदेश अन्तर्गत रास्वपाका उम्मेदवार सप्तरी–१ बाट पुष्पाकुमारी चौधरी (३६ वर्ष), महोत्तरी–४ बाट गौरी कुमारी (५४ वर्ष), सर्लाही–१ बाट नितिमा भण्डारी कार्की (४३ वर्ष) हुनुहुन्छ ।
सप्तरी–१ मा चौधरी ३८ हजार १९५ मतसहित विजयी हुनुभयो । उहाँको निकटतक प्रतिद्वन्द्वी स्वाभिमान पार्टीका सुमित कुमारले सात हजार ८४७ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा नेकपा (एमाले) का सुमनराज प्याकुरेलले सात हजार ६५२, नेपाली कांग्रेसका रामदेव साल (तेली) ले ६ हजार ९९४ मत प्राप्त गर्नुभयो ।
महोत्तरी–४ मा गौरी कुमारी ३० हजार १३२ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका सुरेन्द्र कुमार यादवले आठ हजार ७४२, नेपाली कांग्रेसका महेन्द्र कुमार रायले ६ हजार ९४४, नेकपा (एमाले) का निलम अधिकारीले ६ हजार १९२, नेपाली कम्युनिस्ट पार्टीका भरत प्रसाद शाहले पाँच हजार ३३६ मत प्राप्त गर्नुभयो ।
बागमतीबाट चार जना
बागमती प्रदेशबाट रास्वपाका उम्मेदवार धादिङ–१ बाट आसिका तामाङ (३७ वर्ष), काठमाडौँ–१ बाट रन्जु न्यौपाने दर्शना (३० वर्ष), ललितपुर–३ बाट तोसिमा कार्की (३६ वर्ष), चितवन–३ बाट सोविता गौतम (३० वर्ष) हुनुहुन्छ ।

धादिङ–१ बाट तामाङ ३९ हजार १२८ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का भुमि प्रसाद त्रिपाठीले १५ हजार ३२ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डेले १४ हजार ७०९, नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत प्राप्त गर्नुभयो ।
काठमाडौँ–१ बाट दर्शना १५ हजार ४५५ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ९७२, नेकपा (एमाले) का मोहनराज रेग्मीले एक हजार ६१८ मत प्राप्त गर्नुभयो ।

ललितपुर–३ मा कार्की ४३ हजार ९६ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले ६ हजार २२, नेकपा (एमाले) का सन्दन थापा मगरले तीन हजार २९७ मत प्राप्त गर्नुभयो ।
चितवन–३ मा गौतम ५९ हजार २७७ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले आठ हजार ३४४, नेकपा (एमाले) का शंकर राज थपलियाले पाँच हजार ४ मत प्राप्त गर्नुभयो ।

गण्डकीबाट एक जना
गण्डकी प्रदेश अन्तर्गत कास्की–३ बाट रास्वपाका बिना गुरुङ (५३ वर्ष) विजयी हुनुभएको छ । गुरुङ ३७ हजार ७५० मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा नेकपा (एमाले) का दामोदर पौडेल वैरागीले सात हजार ९०६ र नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले एक हजार ४५६ मत प्राप्त गर्नुभयो ।
कर्णालीबाट एक जना
कर्णाली प्रदेश अन्तर्गत दैलेख–१ बाट नेपाली कांग्रेसकी बासना थापा (४५ वर्ष) विजयी हुनुभएको छ ।

थापा १२ हजार ३७२ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नुभयो ।यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले आठ हजार १५१, नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले चार हजार २५६ मत प्राप्त गर्नुभयो ।
सुदूरपश्चिमबाट एक जना
सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली–१ बाट रास्वपाका कोमल ज्ञवाली (४७ वर्ष) विजयी हुनुभएको छ । ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी हुनुभएको हो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारुले आठ हजार ३९२ र नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौपानेले चार हजार ४९३ मत प्राप्त गर्नुभयो ।
कमेन्ट गर्नुहोस्