अत्तरिया (कैलाली), फागुन २६ गते । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले आज परम्परागत ‘खखडेहरा पर्व’ मनाएका छन् ।
राना थारू समुदायमा होली समापन संगै‘खखडेहरा पर्व’ मनाउने चलन रहेको छ । राना थारू समुदायले माघ शुक्ल पूर्णिमाका दिनदेखि एक महिना आठ दिन सम्म होली पर्व मनाउने गरेको शुदूरपश्चिम प्रदेश निती तथा योजना आयोगकी उपाध्यक्ष डा. जिवन रानाले बताउनुभयो ।
रानाले भन्नुभयो, “खखडेहरा पर्वका दिन बिहानैदेखि गाउँमा विशेष तयारी सुरु हुन्छ । गाउँका अगुवा, भलमन्सा, चाकर तथा अन्य जिम्मेवार व्यक्तिहरूले घरघरमा पुगेर पूजा सामग्री सङ्कलन गर्ने गर्छन् ।
पूजाकै क्रममा पूजा सामग्रीका रूपमा सात प्रकारका अन्न, माटोका भाँडाकुँडा, खप्टाका टुक्रा, गाग्रो, लोटा, सुकेको गोबरबाट बनाइने कन्डी, दियो, घोडाको माटोको मूर्ति तथा शुद्ध पानी सङ्कलन गर्ने सङ्कलित सामग्रीलाई गाउँको चौबाटो वा निश्चित स्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गर्ने परम्परा रहेको छ ।”
पूजा सम्पन्न भएपछि माटोका भाँडाकुँडा, खप्टा, घोडाको मूर्ति, दियो, हडियालगायत सामग्री गाउँका निश्चित व्यक्तिमात्रले फुटाउने चलन परम्परा रहेको उहाँको भनाइ छ । खखडेहरा को पन्ध्रदिन भित्र होलीलाई मथुरामा पठाउने प्रचलन राना थारु समुदायमा रहेको छ । करिब एक महिनासम्म रातको समयमा मात्र होली खेल्ने चलन छ । यस अवधिलाई राना थारू समुदायमा ‘जिउँदो होली’ भनेर चिनिन्छ । जिउँदो होलीका दिनहरूमा गाउँका महिला तथा पुरुष रातभरि भेला भएर पारम्परिक होली गीत गाउने, नाचगान गर्ने र धार्मिक कथाहरूलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने चलन रहेको धनगढीका रामलाल रानाले बताउनुभयो । होली पुर्णीमाको दिनदेखि आठ दिनसम्म ‘मरी होरी’ अर्थात् ‘मरेको होली’ खेल्ने चलन छ ।
मरेको होलीको आठौँ दिनमा खखडेहरा पर्व मनाइन्छ, जसलाई होलीको औपचारिक समापनका रूपमा लिने गरेको धनगढीका रामलाल रानाको भनाई छ । खखडेहरा पर्वको अवसरमा सुदुरपश्चिम प्रदेश सरकारले मंगलबार आज सार्वजनिक विदा समेत दिएको थियो ।
कमेन्ट गर्नुहोस्