काठमाडौँ, वैशाख ९ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘शून्य बाँकी फाइल सप्ताह’का अवधिमा फर्स्योट हुन नसकेका फाइलका सम्बन्धमा गुनासो गर्न सम्बन्धित सबैसँग आह्वान गरेको छ ।
कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै गत चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालित उक्त विशेष अभियानका क्रममा तीनवटै तहका सरकारी निकायबाट फर्स्योट हुन बाँकी रहेका फाइलका विषयमा जानकारी वा गुनासो भए उपलब्ध गराउन आग्रह गरेको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार सेवाग्राहीले आफ्ना गुनासाहरू कार्यालयको ‘हेलो सरकार’ शाखामा दर्ता गराउन सक्नेछन् । यसका लागि टोल फ्री नम्बर ११११, अनलाइन पोर्टल वा अन्य उपलब्ध माध्यम प्रयोग गर्न सकिने शाखा अधिकृत नेत्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
प्रशासनिक कार्यमा ढिलासुस्ती अन्त्य गरी सुशासन कायम गर्ने उद्देश्यले सरकारले यो अभियान सञ्चालन गरेको हो ।

कमेन्ट गर्नुहोस्