इस्लामावाद, वैशाख १२ गते । पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीबिच शनिबार यहाँ भेटवार्ता भएको पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार र सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर पनि बैठकमा सहभागी भएको कार्यालयले जनाएको छ ।
इरान र अमेरिकाबिच सम्भावित वार्तासम्बन्धी प्रस्तावमा केन्द्रित अराघचीको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल आइपुगेपछि पाकिस्तानी र इरानी अधिकारीहरूले शुक्रबार र शनिबार श्रृङ्खलाबद्ध बैठक गरेका थिए । स्रोतका अनुसार वार्ताको क्रममा इरानले आफ्ना सर्त र प्रस्तावमा जोड दिएको थियो र द्वन्द्व अन्त्यका लागि कूटनीतिक संलग्नताको भविष्यको पाठ्यक्रम तय गर्न संलग्न रहने बाचा गरेको थियो ।
शुक्रबार राति एक उच्चस्तरीय बैठक भएको थियो जसमा इरानी पक्षले प्रमुख माग र संयुक्त राज्य अमेरिकाले अघि सारेको प्रस्तावको प्रतिक्रियामा आफ्नो स्थिति साझा गरेको थियो । मध्यस्थकर्ताको रूपमा काम गरिरहेका पाकिस्तानी अधिकारीहरूले वाशिङ्गटनबाट प्राप्त सन्देश सुनाएका थिए भने त्यसपछि इरानी प्रतिनिधिमण्डलले सत्र समाप्त गर्नु अघि आफ्नो विचार प्रस्तुत गरेको थियो ।
स्रोतका अनुसार इरानी प्रतिनिधिमण्डलले पाकिस्तानी मध्यस्थकर्तासँग दुवै पक्षको प्रतिक्रियाको समीक्षा गर्न र सम्भावित आगामी कदमको मूल्याङ्कन गर्न धेरै चरणका बैठकमा भाग लिएको थियो । स्रोतका अनुसार इरानी पक्षले यस क्षेत्रमा शान्ति र स्थिरतालाई बढावा दिने उद्देश्यका लागि पाकिस्तानी नेतृत्वले गरेको अथक र इमानदार प्रयासको प्रशंसा गरेको छ । रासस/एएफपी
कमेन्ट गर्नुहोस्