नेपालगन्ज, वैशाख १२ गते । भारतबाट सामान ल्याउन रोक लगाएपछि नेपाल–भारत सिमानाको जमुनाह नाकाको यात्रु शाखाको भन्सार राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । वैशाख ४ गतेदेखि भारतबाट एक सय रुपियाँभन्दा बढीको सामान ल्याउँदा भन्सार राजस्व सङ्कलन गर्न थालिएपछि जमुनाहस्थित भन्सार यात्रु शाखामा राजस्व सङ्कलन वृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालय प्रमुख जनार्दन पौडेलले हरेक सामानका लागि सीमापारि जाने प्रवृत्ति बदल्ने उद्देश्यले नाकामा कडाइ गरिएको जनाउँदै यसबाट यात्रु शाखाको राजस्व वृद्धि हुनुका साथै नेपाली क्षेत्रका व्यापार व्यवसाय फस्टाउने बताउनुभयो । उहाँले नाकामा यस्तो कडाइ गर्नुअघिसम्म यात्रु शाखामा दैनिक दुई लाखदेखि दुई लाख ७५ हजार रुपियाँसम्म राजस्व सङ्कलन हुने गरेकोमा कडाइपछि दैनिक तीन लाख ६० हजारसम्म सङ्कलन भइरहेको बताउनुभयो ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले पनि नाकामा कडाइ गरिएपछि धेरै नेपाली उपभोक्ता सीमापारि जान छाडेकाले नेपालगन्ज, कोहलपुरलगायतका बजार चलायमान हुन थालेको जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले धेरै उपभोक्ता सीमापारि जान छाडेको र नेपाली स्थानीय बजार चलायमान हुन थालेको बताउनुभयो ।
उहाँले अब नेपालगन्ज र सो वरिपरिका क्षेत्रमा बजार अनुगमनलाई तीव्र पार्नुका साथै कालोबजारी रोक्नुपर्ने र अत्यधिक मुनाफा लिनेमाथि पनि कारबाही गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले अब नेपालगन्जमा पनि कडाइ गरेर व्यापारीमाथि निगरानी बढाइने बताउनुभयो ।
यसैबिच नाकामा कडाइ गरिएकै कारण एक सातायता सीमापारि रुपैडिया बजार प्रायः सुनसान बन्दै गएको त्यहाँका व्यापारीले जनाएका छन् । उनीहरूले राजस्व तिरेर सामान लैजान दिनु पनि राम्रो कुरा भएको जनाउँदै कतिपय सामान भन्सार तिरेर पनि रुपैडियामा सस्तो पर्ने दाबी गरेका छन् । नेपाल र भारत दुवै देशका सर्वसाधारण जनताले भने एक सय रुपियाँको सीमा अव्यावहारिक भन्दै त्यसमा परिमार्जन गर्नुपर्ने माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्