सर्वप्रथम १९ औँ गणतन्त्र दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
आजको दिन हाम्रा लागि विशेष छ । यो दिन मात्र एक साधारण दिन हैन, यो हाम्रा लागि एक ऐतिहासिक दिन हो किनभने आजभन्दा ठिक १९ वर्षअगाडि हामीले नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थियौँ । म यस ऐतिहासिक अवसरमा बहुलवादमा आधारित लोकतन्त्र, जनअधिकार, नागरिक स्वतन्त्रता, सुशासनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन तथा विभिन्न आन्दोलन र सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
साथै आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौँ यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । त्यस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न ठुलो त्याग र परिश्रम गर्नुहुने अग्रज नेताहरू तथा परिवर्तनका सारथि नागरिक समाज र राजनीतिक दल सबैलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु ।
हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो । जनता आफैँले बनाएको संविधानमार्फत यसलाई हामीले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्वित मान्यताले सिञ्िचत गरेर थप सर्वोत्कृष्ट बनाएका छौँ । अतः संसारमै योभन्दा उन्नत अर्को कुनै व्यवस्था छैन । यो यस कारण पनि कि यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ । राज्यसत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको छ । हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान् उपलब्धिका रूपमा अभिलेखन गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौँ । यही अभ्यासले सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पु¥याएको छ ।
स्थानीय र प्रदेश सरकारहरूले संविधानबमोजिमको जिम्मेवारी निर्वाह गरिरहेका छन् । यस शासकीय व्यवस्थामा जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको छ । नागरिकको गुनासो भए शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार, उन्नत लोकतान्त्रिक अभ्यास भइरहेको छ । यसले लोकतन्त्रको जरा बलियो बनाउँछ । लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ ।
हाम्रो संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ । अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो ।
गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ । यसले हामीलाई समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ । यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने सङ्कल्पका लागि अभिप्रेरित गरेको छ किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा हो ।
राजनीतिक उपलब्धिहरू मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन । हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थालाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।
अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नु पर्छ । हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृृद्धि सुनिश्चित गर्नु पर्छ । हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सिर्जनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान् र आचरणशील हुनै पर्दछ । हाम्रा शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्दछ । हामीले सुशासनको प्रत्याभूति दिनै पर्दछ ।
जगजाहेर छ कि आज हाम्रो सबैभन्दा ठुलो शत्रु अरू कोही होइन; ढिलासुस्ती, अनियमितता र बेथिति भएको छ । लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई यिनै बेथितिले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनु पर्दछ । जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्ने छैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन ।
आज नागरिकले सुशासनसहितको समृृद्धि खोजेका छन् । यसका लागि हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ । अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक र सेवाक्षेत्रलाई बलियो बनाउन सक्छौँ, अनि मात्र आर्थिक विकास र समृद्धिबाट शासनव्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ । यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो । यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ । म आशा गर्छु, हामी यो दायित्वलाई बिर्सने छैनौँ ।
मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको छ । यसले जनताको चाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको छ । शासकीय सुधारका एक सय कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानुनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने मैले विश्वास लिएको छु ।
हामी सबैले बुझ्नु पर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हुँदैनन् । यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ । अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन ।
म आशा गर्छु, गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा र मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्ने छौँ । गणतन्त्र फगत एक व्यवस्था होइन; यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवनपद्धति पनि हो । यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन् । त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न प्रेरणा देओस् भन्ने कामनासहित सबैलाई सुखद भविष्यको शुभकामना !
(गणतन्त्र दिवस–२०८३ को मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधनको पूर्ण पाठ)
कमेन्ट गर्नुहोस्