ललितपुर, असार ३ गते । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ लगनखेलबाट जावलाखेल तानिएको छ । जसलाई पश्चिम यात्रा पनि भन्ने गरिन्छ । यो जात्राको एक महत्त्वपूर्ण चरण हो । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो । मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चतुर्थीसम्म चल्छ । मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । मच्छिन्द्रनाथ समक्ष विद्या, धन सम्पती, शान्ति समृद्धि लगायत सबैकुरा मागे पनि मेरो रूप रङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद् बताउँछन् । “पौराणिक कथनअनुसार काठमाडौँ उपत्यकामा लामो समय सम्म अनावृष्टि र अनिकाल परेपछि वर्षाका देवता मानिने आर्यावलोकितेश्वर (मच्छिन्द्रनाथ) लाई उपत्यकामा ल्याइएको र त्यसपछि वर्षा भएर अनिकाल अन्त्य भएको विश्वास गरिन्छ। यही घटनाको स्मरणमा तत्कालीन राजा नरेन्द्रदेवले रातो मच्छिन्द्रनाथ जात्राको सुरुवात गराएको किंवदन्ती छ। त्यसयता सहकाल, समृद्धि र राम्रो वर्षाको कामनासहित यो जात्रा प्रत्येक वर्ष मनाइँदै आएको छ।” यो यात्रा धार्मिक आस्थामात्र नभई नेवार समुदायको सांस्कृतिक सम्पदा, सामाजिक एकता र ऐतिहासिक परम्पराको महत्त्वपूर्ण प्रतीकका रूपमा पनि परिचित छ।
कमेन्ट गर्नुहोस्