भारदह (सप्तरी), असार ३० गते । सप्तरी जिल्लाको कृषि क्षेत्रको अधिकांश काम महिला मजदुरको श्रममा निर्भर रहेको छ। धानको बीउ छर्ने, उखेल्ने, रोप्ने, गोडमेल गर्ने, काट्ने, भित्र्याउने तथा सुकाउनेलगायतका अधिकांश कृषि कार्यमा जिल्लाका महिला मजदुर खटिँदै आएका छन्।
राजविराज नगरपालिका–१३ की प्रमिला देवका अनुसार कृषिका अधिकांश काममा महिलाको श्रम महत्त्वपूर्ण रहेको छ। जिल्लामा उत्पादन हुने धानलगायत सबैजसो बालीमा पुरुषको तुलनामा महिलाको श्रम बढी खर्च हुने गरेको उहाँले बताउनुभयो।
“कृषिको अधिकांश काममा महिला खटिँदै आएका छन्। महिला कृषक र महिला मजदुरले कृषि क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्,” उहाँले भन्नुभयो।
सप्तरीका ग्रामीण भेगका महिलाहरू विशेषगरी जेठ, असार र साउन महिनामा धान रोपाइँमा तथा कात्तिक र मङ्सिरमा धान काट्ने र भित्र्याउने काममा व्यस्त हुने गरेका छन्।
धान रोप्ने, गोडमेल गर्ने, पानी लगाउने, दाइँ गर्ने, काटेको धानको पराल बाँध्ने, भित्र्याउने, गहुँ छर्ने, दलहन, तेलहन तथा तरकारी बाली उत्पादन गर्ने काममा महिलाले नै बढी श्रम गर्ने गरेको राजविराज नगरपालिका–११ की रविता यादवले बताउनुभयो।
उहाँका अनुसार जिल्लामा लगाइने हरेक बाली उत्पादनका केही सीमित कामबाहेक अधिकांश कार्यमा महिलाको उल्लेख्य सहभागिता रहने गरेको छ। बाली लगाउनका लागि खेत तयार गर्नेदेखि उत्पादन भित्र्याउने अवस्थासम्म महिलाले ठुलो जिम्मेवारी निर्वाह गर्दै आएका छन्।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख रोषण मेहताले पनि सप्तरीको कृषि क्षेत्र महिलाकै श्रममा धानिएको बताउनुभयो। घरका पुरुष वैदेशिक रोजगारीमा गए पनि वा घरमै रहे पनि कृषि क्षेत्रको ठुलो जिम्मेवारी महिलाले सम्हाल्दै आएको उहाँको भनाइ छ।
उहाँका अनुसार सप्तरीको ६५.५ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको छ भने ग्रामीण क्षेत्रमा यो संख्या करिब ८० प्रतिशत रहेको छ। जिल्लाको कृषि क्षेत्रमा हुने ८० देखि ९० प्रतिशत काममा महिलाको सहभागिता रहने गरेको उहाँले बताउनुभयो।
कमेन्ट गर्नुहोस्