काठमाडौँ, असार । एक समय थियो, नेपाली चलचित्रका केवल दुई प्रकारका कथाले मात्रै हलमा दबदबा जमाउँथे । कि त चर्का राजनीतिक नारा बोकेका चलचित्र, नत्र भने आँसुको भेल बगाउने भावनात्मक कथा । दर्शकलाई लाग्थ्यो, नेपाली चलचित्रको दायरा सायद यति नै हो तर समय चक्रसँगै नेपाली दर्शकको चेत फेरिएको छ । त्यसै अनुरूप निर्देशक निर्माताहरूको सोचमा पनि व्यापक बदलाब आएको छ ।
अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परागत धारलाई भत्काएको छ । नेपाली कला, संस्कृति र माटोको सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देखिन थालेका छन् । अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा स्पष्ट पारेको छ, दर्शकलाई अब आफ्नै कथा, आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा हेर्न मन छ ।
नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनुपर्ने अभिनेत्री वसुन्धरा भुसालको बुझाइ छ । नेपाली समाज, संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्र चलचित्रले दीर्घकालीन प्रभाव छाड्न सक्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “चलचित्र केवल मनोरञ्जन होइन, देशको भाषा, संस्कृति र पहिचान विश्वसामु चिनाउने माध्यम पनि भएकाले सरकारले यस क्षेत्रलाई नीतिगत र आर्थिक रूपमा प्रोत्साहन गर्नु पर्छ ।”
राम्रो कथा, मेहनत र मनोरञ्जन दिन सक्ने चलचित्र बनाए मात्र दर्शक हलसम्म फर्किने कलाकार दीपकराज गिरीले बताउनुभयो । उहाँका अनुसार चलचित्र सफल वा असफल हुने अन्तिम निर्णय दर्शकले नै गर्छन् । नेपाली चलचित्रले मौलिक कथा, दर्शकको रुचि, व्यावसायिक सोच र गुणस्तरीय निर्माणबिच सन्तुलन कायम गर्न सके मात्र उद्योग दिगो रूपमा अगाडि बढ्न सक्छ । नेपाली चलचित्रको वास्तविक व्यावसायिक विकास पछिल्ला तीन दशकमा तीव्र भएको भन्दै इतिहासको मूल्याङ्कन पनि त्यस अनुसार हुनुपर्ने उहाँको तर्क छ ।
कलात्मक र व्यावसायिक दुवै कोणबाट अहिले नेपाली चलचित्रले निकै परिपक्व यात्रा तय गरिरहेका छन् । चलचित्रकर्मीहरू अहिले बदलिँदो समाजको परिवेशलाई मौलिक रूपमा उतार्न निकै मेहनत गरिरहेका छन् । पहिले कलात्मक भनिने चलचित्रहरू बोझिला हुन्छन् भन्ने भाष्य थियो तर अहिले ती चलचित्रले दर्शकलाई बाँधेर राख्ने कला सिकेका छन् । दर्शकको विश्वास जित्नु फलामको चिउरा चपाउनु जस्तै हो किनकि एक पटक निराश भएको दर्शकलाई पुनः हलसम्म फर्काउन निकै कठिन हुन्छ । पछिल्ला केही प्रयोगले के पुष्टि गरेका छन् भने दर्शक मनोरञ्जनभन्दा पनि कथ्यको गहिराइ खोजिरहेका छन् ।
निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार अहिले वर्षमा सयको हाराहारीमा चलचित्र बन्छन्, धेरैले रोजगारी पाउनुभएको छ । चलचित्र क्षेत्रमा लाग्नुभएका प्राविधिक, कलाकारहरू बाँच्ने आधार प्रशस्त छन् । “हामी चलचित्र क्षेत्रमा लाग्दा यसलाई पेसा नै बनाउन सकिन्छ भन्ने अवस्था थिएन । सोखको रूपमा अथवा दुई/चार पैसा कमाउने भन्ने हिसाबले मात्र यो क्षेत्रमा लागिन्थ्यो । अहिले यो क्षेत्र व्यावसायिकतातर्फ अग्रसर भएको छ, जुन चलचित्रकर्मीहरूका लागि एकदमै राम्रो ठहर भएको छ,” उहाँले भन्नुभयो ।
नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार अहिले चलचित्रको ट्रेन्ड बदलिएको छ । विश्वकपले गर्दा चलचित्र क्षेत्रमा अहिले केही उत्साह कम भए पनि राम्रा चलचित्र प्रदर्शन भएका छन् । अहिले प्रविधिले चलचित्रलार्ई माथि उठाउने काम गरेको उहाँले बताउनुभयो ।
चलचित्र केवल पर्दामा देखिने केही फ्रेम मात्र होइन, यो त देशको आत्मा बोल्ने भाषा हो । नेपाली चलचित्रको विकास हुनु भनेको हाम्रो कला, संस्कृति र भविष्यको संरक्षण हुनु हो । चलचित्रकर्मीहरूको काँधमा अब केवल चलचित्र बनाउने मात्र होइन, बरु यस उद्योगलाई सम्मानित, व्यवस्थित र विश्वस्तरीय बनाउने सामूहिक जिम्मेवारी थपिएको छ ।
डिजिटल क्रान्तिसँगै नयाँ पुस्ताले ल्याएको फरक सोच र शैलीले चलचित्रको क्यानभासलाई फराकिलो बनाएको छ । पछिल्ला केही वर्षमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा नेपाली उपस्थिति उत्साहजनक छ । हाम्रा ग्रामीण जीवनका सङ्घर्ष, राजनीतिक उतारचढाव, वैदेशिक रोजगारीको पीडा र पारिवारिक जटिलताका कथाहरूले विश्वभरका दर्शकलाई आकर्षित गरिरहेका छन् ।
यद्यपि यति ठुलो सम्भावना बोकेर पनि हाम्रो उद्योग अझै पनि अव्यवस्थित छ । राज्यका तर्फबाट आवश्यक नीतिगत सहयोग र व्यवस्थित संरचना निर्माणमा भने अझै धेरै काम गर्न बाँकी छ । नेपाली चलचित्र अहिले एउटा यस्तो मोडमा छ जहाँबाट यसले विश्व बजारलाई चुनौती दिन सक्छ । अबको यात्रा केवल कथा भन्नेमा मात्र सीमित नरहेर नेपाली चलचित्रलाई
ब्रान्डका रूपमा स्थापित गर्नेतर्फ केन्द्रित हुनु पर्छ । यो उद्योग अब केवल बिक्ने कथाको खोजीमा होइन, कल्पिने र सुनाउने कथाको शक्तितर्फ अगाडि बढ्दै छ ।
कमेन्ट गर्नुहोस्