तनहुँ, असार ३० गते । तनहुँ जिल्लाका १० हजार ९८१ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् ।
जिल्लाका चार नगरपालिका र छ गाउँपालिकासहित १० वटै स्थानीय तहका १६ देखि ५९ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पूर्ण खोप पाएका हुन् । प्रदेश स्वास्थ्य कार्यालय तनहुँका खोप सुपरभाइजर शङ्करबाबु अधिकारीका अनुसार जिल्लाभर १६ देखि ५९ महिनासम्मका १० हजार ९८१ र शून्यदेखि १५ महिनासम्मका तीन हजार ४२१ जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेका छन् ।
खोप सुपरभाइजर अधिकारीले जिल्लाका सबै स्थानीय तहहरूले आवश्यक प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिसकेको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै व्यास नगरपालिकाका दुई हजार ५७२ जना र सबैभन्दा कम घिरिङ गाउँपालिकाका ५२३ जना बालबालिकाले पूर्ण खोप लगाएका छन्।
यस्तै भानु नगरपालिकाका एक हजार ६४३, शुक्लागण्डकी नगरपालिकाका एक हजार ८९०, भिमाद नगरपालिकाका एक हजार ९८, म्याग्दे गाउँपालिकाका ८२५, रिसिङ गाउँपालिकाका ६७०, देवघाट गाउँपालिकाका ५२६, बन्दीपुर गाउँपालिकाका ४४५ र आँबुखैरेनी गाउँपालिकाका ७८९ जना बालबालिकाले पूर्ण खोप पाएका छन् ।
जिल्लामा ‘शून्य डोज’ अर्थात् कुनै पनि खोप नलगाएका बालबालिकाको सङ्ख्या शून्य छ । सर्वेक्षणका क्रममा खोप लगाउन छुटेका (ड्रपआउट) १७ जना बालबालिकालाई पहिचान गरी पुनः खोप कार्यक्रममा समेटिएको छ । जसअन्तर्गत भानु, शुक्लागण्डकी र आँबुखैरेनीमा चार÷चार जना, देवघाटमा तीन जना तथा व्यास र भिमादमा एक-एक जना ड्रपआउट बालबालिकालाई खोप लगाइएको कार्यालयले जनाएको छ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकाहरूलाई क्षयरोग, रोटा भाइरस, पोलियो, निमोनिया, मेनिन्जाइटिस, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, जापानिज इन्सेफालाइटिस, दादुरा, रुबेला, टाइफाइड तथा एचपीभीलगायतका १४ वटा सरुवा रोगविरुद्ध निःशुल्क खोप प्रदान गरिँदै आएको छ । यसका साथै गर्भवती महिलाहरूलाई समेत टीडी खोप लगाउने व्यवस्था रहेको छ ।
कमेन्ट गर्नुहोस्