न्युयोर्क, असार ३० गते । यस विश्वकपको एउटा विशेषता हो, ४८ टिमको सहभागिता । यो अहिलेसम्मको विस्तारित विश्वकप हो । सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपमा १३ राष्ट्रले भाग लिएका थिए । दोस्रो विश्वकपमा तीन टिम थपेर १६ राष्ट्रले खेलेका थिए । त्यसपछि सन् १९८२ मा भएको विश्वकपमा विश्वकप खेल्ने राष्ट्रको सङ्ख्या २४ पु¥याइयो । यसबिच दोस्रो विश्वयुद्धका कारण चौथो विश्वकप पुनः १३ टिमबिच भएको थियो । सन् १९९८ देखि २०२२ सम्म ३२ राष्ट्रले विश्वकप खेले । २८ वर्षपछि फिफाले थप १६ देशलाई विश्वकपमा खेल्ने अवसर दिएको हो । यसले विश्वकपको दायरा बढाएको छ भने नयाँ देशलाई विश्वकप फुटबलमा स्थापित हुने अवसर पनि प्रदान गरेको छ ।
अब अर्को विश्वकपमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबललाई ६८ राष्ट्रको प्रतियोगिताका रूपमा विस्तारित गर्ने योजना रहेको बताउनुभएको छ । आगामी विश्वकप सन् २०३० मा मोरक्को, पोर्चुगल र स्पेनले संयुक्त रूपमा आयोजना गर्दै छन् । अध्यक्ष इन्फाक्नेन्टिनोले सो विश्वकपमा थप १६ टिम थपिन सक्ने जानकारी दिनुभएको हो । सो प्रतियोगिताको उद्घाटन खेल भने उरुग्वे, अर्जेन्टिना र पाराग्वेले आयोजना गर्ने छन् तर दक्षिण अमेरिकी फुटबल सङ्घले फिफाको यस योजनामा पुनर्विचार गर्न भनेको छ । विश्वकप एक सय वर्ष पुगेको अवसर हुने हुनाले दक्षिण अमेरिकामा उद्घाटन खेल खेलाइने तालिका राखिएको छ ।
“६४ टिमको विश्वकपका बारेमा यस प्रतियोगितापछि छलफल हुने छ । यो सम्भव भएमा विश्वकप परम्परागत फुटबल शक्ति राष्ट्रहरूको मात्र होइन पूरा विश्वकै हुने छ,” उहाँले भन्नुभयो । इन्फाक्नेन्टिनोलका अनुसार यस योजनाले दक्षिण अमेरिका र युरोप मात्र होइन अन्य विकासोन्मुख देशलाई पनि खेलकुदमा लगानी गर्न प्रेरित गर्ने छ । हरेक राष्ट्रलाई विश्वकपमा खेल्ने सपना देख्ने छुट छ । अहिले विश्वका सबै जसो राष्ट्रको फुटबल स्तर उच्च भइरहेको छ, उहाँले भन्नुभयो । अध्यक्ष इन्फाक्नेन्टिनोलका अनुसार फुटबलमा साना देशलाई भाग लिने मौका दिइएन भने तिनीहरूलाई सुधार कायम राख्न प्रोत्साहन मिल्ने छैन । केप भेर्डे, कङ्गो, कुरासाओ जस्ता साना राष्ट्रको सानदार प्रदर्शनको उदाहरण दिनुहुँदै उहाँले ४८ राष्ट्र सामेल सन् २०२६ को विश्वकपलाई पूर्ण सफल भएको मान्नुभएको छ । एजेन्सी
कमेन्ट गर्नुहोस्