मुक्तिनाथ (मुस्ताङ), साउन ५ गते । उपल्लो मुस्ताङमा पदयात्रा गरेको समय अवधिको मात्रै शुल्क र पथप्रदर्शक अनिवार्य लिएर एकल पदयात्रा गर्न मिल्ने सुविधासँगै पर्यटकको आगमनमा वृद्धि भएको छ। नेपाल सरकारले अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गरी यसअघि एकमुष्ठ प्रतिविदेशी पर्यटक पाँच सय अमेरिकी डलर तथा १० दिनभन्दा बढी भ्रमण गरेमा प्रतिदिन ५० डलरका दरले शुल्क तिर्नुपर्ने प्रावधान हटाएपछि तीन वर्षयताकै धेरै विदेशी पर्यटक बढेका हुन्।
गत वर्षसम्म दुई वा सोभन्दा बढी विदेशी पर्यटकले समूह बनाएर मात्र अर्धनिषेधित क्षेत्र घुम्न पाइने प्रावधान थियो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय लोमान्थाङका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा चार हजार दुई सय २४ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्, जसमा सबैभन्दा धेरै भारतीय पर्यटक छन्। आव २०८१/८२ मा चार हजार दुई सय १९ जना र आव २०८०/८१ मा तीन हजार चार सय ४३ जनाले भ्रमण गरेका थिए।
अघिल्ला दुई आर्थिक वर्षमा सबैभन्दा धेरै भ्रमण गर्ने युरोपेली देश फ्रान्सका भए पनि शुल्क घटेपछि गत आव २०८२/८३ मा चार सय ७५ जना भारतीय पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए। अर्धनिषेधित क्षेत्रको भ्रमणमा सहजता भएसँगै घुम्न आउने देशको सङ्ख्यासमेत बढेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो। पौडेलले भन्नुभयो, “छोटो अवधिका लागि भ्रमणमा आउनेलाई सजिलो भएको छ, सार्क राष्ट्रका पर्यटकको समेत आकर्षण बढ्दै गएको छ।” अध्यागमन विभागले भ्रमण अवधिको मात्रै शुल्क तिर्ने नियम लागू गरेपछि दुई हजार पाँच सय ६९ जना पर्यटक उपल्लो मुस्ताङ पुगेको एक्याप लोमान्थाङले जनाएको छ।
सार्क राष्ट्रबाट एक दिनको शुल्क तिरेर जानेको सङ्ख्या बढेपछि तेस्रो मुलुकबाट आउने विदेशी पर्यटकले न्यूनतम तीन दिनसम्मको अनुमति लिने गरेको पाइएको छ। उपल्लो मुस्ताङमा सबैभन्दा धेरै पर्यटक वैशाख र असोज महिनामा भित्रिने गरेका छन् भने जाडो याममा कम हुने गरेका छन्।
मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले शुल्क छुट र एकल पदयात्राले पर्यटकको सङ्ख्या बढे पनि खर्च भने घटेको बताउनुभयो। अध्यक्ष लालचनले भन्नुभयो, “पर्यटकलाई लामो समयसम्म मुस्ताङमा घुम्ने वातावरण बनाउन आवश्यक छ। सुविधा थपेर कम्तीमा एक सातासम्म राख्न सकियो भने पर्यटन व्यवसायीलाई राहत हुन्छ।” उपल्लो मुस्ताङको कोरला नाका हुँदै हिन्दु, बौद्ध, जैनलगायत विभिन्न समुदायका धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर पुग्ने मार्ग खुलाउन सकेमा झनै सहज हुने लालचनको भनाइ छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय लोमान्थाङअन्तर्गत पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलमा आउने पर्यटकले कोरला नाका, प्राचीन मानवबस्ती भएका गुफा, गुम्बा, लोमान्थाङ दरबार, प्राचीन शैलीका माटाका बस्ती, मौलिक रहनसहन, संस्कृति र जीवनशैली हेरेर समय बिताउने गरेका छन्। नेपाल सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङलाई पर्यटक भ्रमणका लागि खुला गरेको थियो।
कमेन्ट गर्नुहोस्