इलाम, साउन ५ गते । केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड विगत १५ दिनदेखि बन्द भएपछि त्यसको सास्ती मेची पहाडका सर्वसाधारणले व्यहोरिरहेका छन्।
अहिले इलामबाट झापा जानका लागि भरपर्दो कुनै पनि सडक छैन। राजमार्गको वैकल्पिक रूपमा रहेका केचना–कञ्चनजङ्घा सडक र तिल्केनी–सिमल गोलाई सडकको बीचमा पर्ने पुवाखोला र जोगमाई खोलामा बनाइएका डाइभर्सनहरू बाढीले बगाउँदा मेची पहाडी भेगका बासिन्दाले सास्ती भोग्नुपरेको छ।
यी खोलामा बाढी घटेपछि डाइभर्सन बनाइए पनि पुन: बाढी आउनासाथ बगाउने गरेकाले ठुलो समस्या भइरहेको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरेले बताउनुभयो। राजदुवाली सडक खण्डमा भने खोला क्षेत्रमा पर्खाल लगाउने काम भइरहेको र माथिबाट सडक भासिएर झरिरहेकाले तत्काल राजमार्ग खुल्न सक्ने अवस्था नरहेको घिमिरेले जानकारी दिनुभयो। “अहिले सवारीसाधन पूर्ण रूपमा बन्द भएको अवस्थामा तलबाट पर्खाल उठाएर माटो पुरेका (फिलिङ) पछि मात्र माथिको ट्र्याक बनाउन सकिन्छ,” घिमिरेले भन्नुभयो।
अहिले राजमार्गसहित सबै सडक बन्द भएपछि इलाम–झापा आउजाउका लागि बिरामीलाई स्ट्रेचरमा बोकेरै पहिरो पार गराउनुपरेको छ। यात्रुहरू भने पहिरोमा जोखिमपूर्ण रूपमा पैदल हिँडेरै यात्रा गरिरहेका छन्। यता वैकल्पिक मार्ग भएर ताप्लेजुङसम्मका लागि छुटेका मालवाहक सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।
सडक ठप्प भएपछि इन्धन र खाना पकाउने ग्याँससहित दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ। “अहिले इन्धन, ग्याँससहितका दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन थालेको छ,” इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले भन्नुभयो, “भित्रिएका दैनिक उपभोग्य सामग्रीहरूमा पनि अत्यधिक ढुवानी खर्च जोडिएकाले उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको अवस्था छ।” यदि यस्तै अवस्था रहिरहे अब नागरिकहरू आफैँ आन्दोलित हुनुको विकल्प नरहेको अध्यक्ष पौड्याल बताउनुहुन्छ।
कमेन्ट गर्नुहोस्