काठमाडौँ, साउन ८ गते। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपालीले शिर उँचो बनाएर गौरवका साथ उभिन पाएको बताउनुभएको छ।
राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित पुरस्कार तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिने बताउनुभएको हो । "इतिहासको असल पक्षको अनुसरणले नै भविष्य निर्माणको सुनौलो बाटो तय गर्छ भन्ने म ठान्दछु," उहाँले भन्नुभयो।
वीर पुर्खाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवम् सार्वभौमसत्ताका लागि गरेको बलिदान र योगदान स्तुत्य रहेको बताउँदै राष्ट्रपति पौडेलले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। राष्ट्रप्रेमप्रतिको अगाध आस्था र प्रतिबद्धताबाट विचलित हुन नहुने उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले भन्नुभयो, "एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावधारा जागृत गरेर अघि बढ्नुपर्छ। हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनका माध्यमबाट देश विकासको कामलाई तीव्र बनाउन जुटौँ। यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ।"
बहुआयामिक व्यक्तित्वका धनी भीमसेन थापा राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताविरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै उहाँले देशभक्ति नै थापाको मूलमन्त्र रहेको स्मरण गर्नुभयो। अङ्ग्रेजसँगको युद्धमा ठुलो मूल्य चुकाउनुपरे पनि थापाकै राष्ट्रभक्तिको अडानका कारण नेपाल स्वतन्त्र रहन सकेको उहाँले बताउनुभयो। थापालाई कुशल प्रशासकका रूपमा स्मरण गर्दै उहाँले आफ्नो शासनकालमा सामाजिक, आर्थिक, कानुनी तथा सैन्य आधुनिकीकरणका क्षेत्रमा गर्नुभएको सुधार प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
कमेन्ट गर्नुहोस्