तनहुँ, साउन १७ गते। धर्म, जाति वा समुदायका नाममा समाजलाई विभाजन होइन, एकता, सहिष्णुता र आपसी सम्मान आवश्यक रहेको सन्देश दिँदै तनहुँको देवघाटधाममा वैदिक शान्तिपाठ गरिएको छ।
देवघाट क्षेत्र विकास समितिको आयोजनामा शुक्रबार देवघाटस्थित गलेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा गलेश्वर आश्रमद्वारा सञ्चालित वेदवेदाङ्ग क्याम्पसका करिब तीन सय वटुकले सामूहिक रूपमा वैदिक शान्तिपाठ गर्दै देशमा शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम रहोस् भन्ने कामना गरेका हुन्। केही दिनअघि सुनसरीमा दुई धार्मिक समुदायबिच भएको झडपपछि देशका विभिन्न स्थानमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावबारे चासो बढिरहेका बेला आयोजित सो कार्यक्रममा धार्मिक विविधताभित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भवानीप्रसाद तिमिल्सिनाले धार्मिक आस्थाका नाममा द्वेष र विभाजन फैलाउने प्रयासले समाज र राष्ट्र दुवैलाई कमजोर बनाउने बताउनुभयो। उहाँले सबै नेपालीले सहिष्णुता, पारस्परिक विश्वास र सम्मानलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले धर्मको मूल मर्म मानवता, करुणा र प्रेम भएको उल्लेख गर्दै कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनको शिक्षा नदिने बताउनुभयो। उहाँले सबै धर्मप्रति सम्मान, सहिष्णुता र सहअस्तित्वको भावना कायम राख्नुपर्नेमा जोड दिनुभयो। नेपाल विविधताभित्रको एकताको अनुपम उदाहरण भएको उल्लेख गर्दै जुनसुकै धर्म मान्ने नागरिक भए पनि एकअर्काको आस्था र अस्तित्वको सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो।
देवघाट क्षेत्र विकास समितिले धार्मिक विविधतालाई राष्ट्रिय एकताको शक्तिका रूपमा स्थापित गर्दै सहिष्णुता, सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।
दमौलीमा बृहत् पदयात्रा आयोजना गरिने
यसैबिच, धार्मिक तथा सामाजिक सद्भाव, आपसी भाइचारा र सहिष्णुतालाई थप सुदृढ बनाउने उद्देश्यले दमौलीमा बृहत् पदयात्रा आयोजना गरिने भएको छ।
दमौलीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान र दमौली मुस्लिम समाजले संयुक्त रूपमा पदयात्राको घोषणा गर्दै सबै धर्म, जातजाति र समुदायलाई सहभागिताका लागि आह्वान गरेका छन्।
प्रतिष्ठानका अध्यक्ष ध्यानानन्दाचार्य खेमराज जय श्री हरिले धार्मिक सहिष्णुता नेपालको मौलिक पहिचान भएकाले त्यसको संरक्षणमा सबै समुदाय एकताबद्ध हुनुपर्ने बताउनुभयो। दमौली मुस्लिम समाजका अध्यक्ष हाजी जमाल दिन मियाँले विभिन्न धर्म र समुदायबिचको विश्वास तथा सहकार्य नै नेपाली समाजको सबैभन्दा ठुलो शक्ति भएको उल्लेख गर्दै संयमता र सहिष्णुता कायम राख्न आग्रह गर्नुभयो।
सार्वजनिक संयुक्त विज्ञप्तिमा नेपालमा परापूर्वकालदेखि कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्तिपूर्ण सहअस्तित्वलाई जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख छ।
कमेन्ट गर्नुहोस्